बैंकहरुले बैंकदर भन्दा कम डिस्काउन्ट अफर गरेपछि राष्ट्र बैंकले मागेजति खरिद गरेन ट्रेजरी बिल्स

१० भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बरावरको टे«जरी बिल्सको सोझै खरिद गर्ने भनेपनि करिब १५ अर्बको मात्र किनेको छ । बैंक वित्तीय संस्थाले बैंकदर भन्दा कम डिस्काउन्ट अफर गरेपछि केन्द्रिय बैंकले चाहेजती खरिद नगरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ८.५ प्रतिशत ब्याजदरमा स्थायी तलता सुविधा प्रदान गर्छ । बैंक वित्तीय संस्थाहरुले सोही सुविधा लिई नेपाल सरकारले आन्तरिक ऋण उठाउन जारी गर्ने ट्रेजरी बिल्समा दोहोरो अंकको ब्याजदरमा लगानी गर्ने गरेका छन् ।

केन्द्रीय बैंकले स्थायी तरलता सुविधामा लिएको ब्याज भन्दा कम डिस्काउन्टमा ट्रेजरी बिल्सको सोझै खरिद नगरेको राष्ट्र बैंकका एक अधिकारीले बताए । “धेरै बैंक वित्तीय संस्थाले ८.५ प्रतिशत भन्दा पनि कम डिस्काउन्ट रेट कायम गरेपछि २५ अर्ब बरावरको खरिद नगरेको हो,”उनले भने,“तरलताको समस्या भएका बैंक वित्तीय संस्थाले १० प्रतिशत भन्दा धेरै डिस्काउन्ट रेट पनि बोल गरेका छन, हामीले खरिद गर्न चाहेको रकम भन्दा धेरैको आवेदन आएको भएपनि बैंकदर भन्दा थोरै डिस्काउन्ट रेट बोल भएकाले पुरा खरिद नगरेको हो ।”

यहि भदौ १२ गते देखि बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात ३ बाट बढाएर ४ प्रतिशत कायम गर्नुपर्छ । त्यसले गर्दा पनि बैंक वित्तीय संस्थालाई तरलताको आवश्यक छ । यो कारणले मात्रै करिब ३० अर्ब रुपैयाँ बजारमा आवश्यक देखिने उनले बताए । अनिवार्य नगद मौज्दातको सीमाका लागि पनि बैंक वित्तीय संस्थाहरुले ट्रेजरी बिल्स बिक्री गर्न खोजेको बताउँदै उनले भने,“बैंकहरुले बिक्री गर्न खोजेको भएपनि बैंकदर भन्दा कममा केन्द्रीय बैंकले ट्रेजरी बिल्सको सोझै खरिद गर्न चाहेन ।”

केन्द्रीय बैंकले बिहीबार २५ अर्ब रुपैयाँ बरावरको सरकारी ऋणपत्रको सोझै खरिद गर्ने भनेपनि १४ अर्ब ८५ करोड रुपैयाँ बरावरको मात्र खरिद गरी तरलता प्रबाह गरेको हो । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलताको अभाव हुदाँ सरकारी ऋणपत्रको सोझै खरिद र अधिक हुदाँ सोझै बिक्री गर्नेगर्छ । केन्द्रीय बैंकको खुला बजार व्यवस्थापन समितिले बजारको अवस्थालाई हेरेर तरलता व्यवस्थापनका लागि यस्तो औजारहरु समय समयमा जारी गर्ने गर्छ।

राष्ट्र बैंकले पुस मसान्तसम्ममा परिपक्क हुने २५ अर्ब रुपैयाँ बरावरको ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि २३ बैंक तथा वित्तीय संस्थाले ११० बोल आवेदन मार्फत ४४ अर्ब ७९ करोड रुपैयाँ बरावरको बिक्री गर्न खोजेका थिए ।

तर, केन्द्रीय बैंकले १४ अर्ब ८५ करोड रुपैयाँ बरावरको मात्र खरिद गरेको थियो । समय अवधि अगाबै ट्रेजरी बिल्स बिक्री गर्न चाहेका बैंक वित्तीय संस्थाले अधिकतम १०.३१९५ देखि न्यूनतम ८.४८०६ प्रतिशतसम्मको ब्याजदर माग गरेका थिए । यसका आधारमा औसत ब्याजदर ८.८९९६ प्रतिशत कायम भएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNepal Rastriya BankNewsPolitic
Comments (0)
Add Comment