गाई जात्राको महत्व

२७ साउन, काठमाडाैं । मिति २०७९ साल साउन २७ गते शुक्रबार भाद्रकृष्ण प्रतिपदा तिथी भोलिपल्ट प्रात: ५ १८ बजेसम्म त्यस उप्रान्त दुतिया तिथी आरम्भ भएकोले यो दिन गाईजात्रा पर्व हो। यो दिन नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। गाईजात्रा भाद्र कृष्णपक्ष प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन।

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ । हिन्दुधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ ।

यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

हाम्रो संस्कृति, हाम्रो पहिचान हो । अघिल्लो पुस्ताले हामीलाई दिएको मौलिक सम्पति हो । त्यसैले यसलाई जर्गेना गर्ने दायित्व पनि हाम्रो हो । संसारलाई बदल्न छ भने सुरुवात आफैबाट गर भन्ने हाम्रो एतिहासिक धरोहर, हाम्रो संस्कृतिको सर्म्वर्द्धन र प्रवर्द्धन अहिलेबाट आफै गर्नुपर्छ ।कुनै बेला नेवारी समुदायमा मात्र सिमिति रहेको गाईजात्रा राष्ट्रिय पर्व रुपमा मान्यता पाएको छ ।

सामाजिक मेलमिलाप सद्भाव विकासमा ठुलो भुमिका खेलेको यो पर्वले हाम्रो देश नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन पनि सहयोग पुर्याएको छ ।आउनुहोस उठौ, हाम्रो संस्कृति, हाम्रो पहिचानको धरोहर जोगाउन आ-आफ्नो ठाउंबाट सहयोग गरौँ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarFestivalGai JatrahealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment