कोरोना संक्रमण बढ्न थालेपछि कर्णाली सरकारले थाल्यो तयारी

२६ साउन, काठमाडाैँ । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न थालेपछि रोकथामका लागि सरकारले तयारी थालेको छ । बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी प्रदेशस्तरीय निर्देशक समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

जसमा कोरोना रोकथामका प्रमुख माध्यम भनेको खोप सेवा भएकाले खोपलाई प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशमा कोरोना संक्रमित शंकास्पद व्यक्तिहरुको संख्या बढ्दै गइरहेको हुँदा आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्न निर्णय गरिएको छ ।

यस्तै शंकास्पद व्यक्तिहरुलाई प्रयोगशालामा परीक्षण गर्ने, स्थानीय तह तथा जिल्ला कोभिड– १९ संकट प्रतिकार्य व्यवस्थापन समितिलाई जानकारी गराउन सामान्य संक्रमितहरुलाई होम आइसोलेशनमा बस्न र गम्भीर स्वाथ्य अथवा भएका बिरामीहरुलाई उपचारका लागि पायक पर्ने अस्पतालमा जान प्रेरित गर्ने जस्ता कार्य गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए । साथै उनले जनस्तरमा सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत स्थानीय तह र प्रशासनलाई आग्रह गर्ने निर्णय भएको बताए ।

चाडपर्व सुरु भएकाले मानिसको भीडभाड बढ्न जान सक्ने सम्भावनालाई मध्यनजर राखी सामाजिक विकास मन्त्रालय, सबै पालिकाहरुलाई र जिल्ला प्रशासन कार्यालयमार्फत जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालन गर्न गराउनका लागि निरन्तर अनुगमनको व्यवस्थापन गर्नका लागि व्यबस्था मिलाउन पनि आग्रह गरिएको छ ।

मुख्यमन्त्री शाहीले भने, ‘कोरोना संक्रमणबाट सुरक्षित रहने एकमात्र उपाय खोप हो । तर हालसम्म कोरोना विरुद्धको खोपको कभरेज अपेक्षित भएको छैन् । हालसम्म खोप नलगाएका र पूर्ण खोप नपाएका तथा थप मात्रा/बुष्टर खोप नलगाएका मानिसहरु अझै पनि समुदायमा रहेकाले उनीहरुलाई तत्काल खोप सेवा लिनका लागि खोप सेवा लिने व्यवस्था मिलाउनुपर्छ ।’ त्यसका लागि स्वास्थ्य संस्थाहरुलाई परिचालन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment