नर्भिक अस्पतालले निर्माण गरेको अवैधानिक संरचना हटाउन काठमाडौं महानगरको निर्देशन, संरचना हटाउन समिति बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले निर्माण गरेको अवैधानिक संरचना हटाउन निर्देशन दिएको छ । नर्भिक अस्पताल र काठमाडौं महानगरको लफडाबीच मेयर बालेन्द्र शाह (बालेन) मंगलबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

सोमबार महानगरले नक्सा पास नै नगराई निर्माण गरिएका भौतिक संरचना २४ घण्टाभित्र भत्काउन अस्पताललाई अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा नर्भिकले तत्कालै ती संरचना भत्काउन नसकिने जवाफ फर्काएको थियो ।

नर्भिक अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । 

नर्भिकले आज पत्रकार सम्मेलन नै गरेर आजको आजै संरचना भत्काए गम्भीर अवस्थामा उपचाररत बिरामीको ज्यान खतरामा पर्न सक्ने जवाफ महानगरलाई दिएको थियो । नर्भिकले बिरामीहरूको स्वास्थ्य संवेदनशीलतालाई समेत ख्याल गरेर उचित कानुनी प्रक्रिया अवलम्बन गर्न चुनौती दिएको छ ।

नर्भिकको पत्रकार सम्मेलनलगत्तै बालेन अस्पताल पुगेका हुन् । उनले नियम कानुन सबैलाई बराबर हुनुपर्ने बताउँदै फुटपाथ मिच्नु र सार्वजनिक जग्गा मिच्नु एकै भएको बताएका थिए ।

बालेनले यसो भनिरहँदा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले आफूहरूले जग्गा नमिचेको दाबी गरेका थिए ।

बालेन नर्भिक पुगेसँगै अस्पतालका कर्मचारीहरूले उनलाई संरचना नभत्काउन आग्रह गरेका थिए । पछि बालेनले नर्भिक अस्पतालले नक्सापासबिना बनाएका संरचना हटाउनका लागि अल्टिमेटम दिएर फर्किए ।

सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न महानगर र नर्भिकले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । मंगलबार अस्पताल र महानगरबीच समिति बनाउने सहमति भएको हो । उक्त सहमतिको सिफारिसअनुसार काम हुने जनाइएको छ । यस्तो निर्णयपछि बालेन फर्किएका छन् ।

नर्भिक अस्पतालले आफूले कानुनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिसअनुसार अघि बढ्ने सहमति भएको छ ।

त्यस क्रममा बालेनले अस्पतालका प्राविधिकहरूलाई पनि राखेर कति समय लाग्ने हो, त्यसका आधारमा निर्णय गर्न निर्देशन दिएका छन् । मिश्रले जग्गा नमिचेको दाबी गरिरहेपछि बालेनले भने लिज एग्रिमेन्टसँग आफूलाई कुनै समस्या नरहेको बताएका थिए ।

उनले मन्त्रिपरिषद्ले निर्णय गरेर दिए आफूलाई कुनै समस्या नरहेको बताउँदै नियम कानुन सबैलाई लाग्नुपर्ने बताए ।

सोमबार महानगरले नर्भिकलाई नक्सा पास नै नगराई अस्पताल परिसरमा बनाइएका संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा नर्भिकले निर्माण गरिएका संरचना तत्काल भत्काउन सम्भव नरहेको जनाएको थियो ।

यही विषयमा महानगर र नर्भिकबीच लफडा चलिरहेको छ । नर्भिकले महानगरलाई पत्र पठाइएको भने पनि महानगरले भने पत्र नआएको दाबी गरेको छ । भवन भत्काउने/नभत्काउने विषयमा कुनै पत्र महानगरमा नआएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

‘नर्भिकले पत्र पठाएको भए आउँथ्यो होला । तर, अहिलेसम्म हामीले कुनै खाले पत्र पाएका छैनौँ,’ उनले भने ।

नर्भिक अस्पतालले आफूले कानुनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिसअनुसार अघि बढ्ने सहमति भएको छ ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।
नर्भिकले भने हिजै तत्काल भवन भत्काउन नसकिनेबारे महानगरलाई पत्र पठाएको दाबी गरेको छ । मङ्गलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले हिजै पत्र पठाएको र अहिलेसम्म जवाफ नआएको दाबी गरेको हो ।

अस्पताल भवनको पश्चिमतर्फ बनेका संरचनाहरू (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सा पास नै नगराई निर्माण गरेको भन्दै बालेनले त्यस्तो आदेश दिएका हुन् ।

नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५, क्षेत्रफल १–८–१–१ को उक्त जग्गा नर्भिक अस्पतालले लिजमा लिई संरचनाहरू निर्माण गरेर अस्पताल सञ्चालन गरेको हो । नर्भिकले संरचना हटाउन अधिकार महानगरको नरहेको पनि जिकिर गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment