जापान पुगेर प्रचण्डले भने– सिन्जो आबेलाई भेट्ने इच्छा पुरा भएन, दु:खी छु

२१ साउन, काठमाडाैं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यहाँका पूर्वप्रधानमन्त्री (दिवंगत) सिन्जो आबेसँग भेट्ने इच्छा पूरा नभएको भन्दै दु:ख व्यक्त गरेका छन्।

शनिबार विहान जापान पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले टोकियोमा सञ्चारकर्मी र प्रवासी नेपालीसँगको कुराकानीमा आबेलाई भेट्ने आफ्नो इच्छा भएपनि ‘दुर्भाग्यपूर्ण घटना’मा उनको निधन भएकाले त्यो पूरा हुन नसक्ने अवस्था सिर्जना भएको बताए।

‘म जापान आउने निर्णय भइसकेपछि मेर इच्छा के थियो भने आबे जो पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई भेट्ने भनेर मैले मिलाउन कोसिस गर्दै थिएँ, जापानको राजदूतसँग पनि नेपालमा दूतावासमार्फत् पनि कुरा भएको थियो,’ प्रचण्डले भने, ‘किनकि पूर्वप्रधानमन्त्रीका हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग २/३ पटक कुराकानी भएको थियो र असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो। एकअर्काप्रति एउटा अन्तर्क्रिया राम्रो भएको थियो र उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को उचाइमा कसरी लाने भन्ने मेरो इच्छा थियो, त्यो चाहिँ पूरा भएन।’

प्रचण्डले आफ्नो जापान भ्रमणका क्रममा राजनीतिक दलका नेता र सांसदहरुसँग केही छलफल हुने बताएका छन्। उक्त छलफलबाट नेपाल–जापान सम्बन्धलाई अझ अगाडि बढाउन गर्न सकिने सहयोगका विषयमा आफ्नो ध्यान हुने उनको भनाइ छ।

प्रचण्डले जापान भ्रमणका क्रममा आफूले जापानमा रहेका नेपालीहरु अवस्था र उनीहरुका लागि नेपाल सरकार तथा नेपालको राजनीतिक नेतृत्वका तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने बताए।

जापानले सूचना प्रविधिको क्षेत्रमा गरिरहेको विकासबारे जान्ने इच्छा आफूलाई रहेको प्रचण्डले उल्लेख गरे। ‘आईटी सेक्टरमा जापानको स्थिति के भन्ने विषयमा अलि मेरो बढी रुचि छ। जापान हामी सबैको निम्ति प्रेरणाको स्रोत पनि हो। युद्धबाट तवाह बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउन सक्दोरहेछ भन्ने कुराको एउटा उदाहरण जापान हो,’ प्रचण्डले भने।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रचण्डले अहिले नेपाली जनताले विकास र समृद्धि नै खोजेकाले दलहरु पनि त्यसतर्फ नै केन्द्रित हुने बताए। ‘अलिकति राजनीतिक स्थायित्व होस्, अब फेरि राजनीतिक अराजकतातिर नेपाल नजाओस् र विकासले गति लेओस् भन्ने नै जनताको मुख्य चाहना हो,’ प्रचण्डले भने।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment