यो साता कारोबार रकम ११ अर्बभन्दा बढीले वृद्धि, लगानीकर्ताको सम्पत्ति मूल्य करीब २ खर्ब बढ्यो

१४ साउन, काठमाडौं । यो साता धितोपत्र बजारका सबै महत्वपूर्ण परिसूचकहरू सकारात्मक बनेका छन् ।

गत साताको तुलनामा यो साता सबै सूचकहरू बढेका हुन् । गत साता २ हजार १७ दशमलव ४६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार १४० दशमलव ५२ विन्दुमा पुगेर बन्द भएको छ । साताको कारोबारमा नेप्से परिसूचक १२३ दशमलव शून्य ६ अंकले बढेको हो ।

यो साता ६ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र घटेको छ । साताको पहिलो कारोबार दिन ६१ दशमलव शून्य ५ अंकले र दोस्रो दिन ५४ दशमलव ४५ अंकले बढेको बजार तेस्रो दिन भने ४४ दशमलव ८० अंकले घटेको थियो । त्यस पछिका तीन कारोबार दिन भने नेप्से परिसूचक निरन्तर बढेको छ ।

साताको चौथो कारोबार दिन २३ दशमलव ८३ अंक, पाँचौ दिन १५ दशमलव ४९ अंक र छैठौ दिन १३ दशमलव शून्य ५ अंक नेप्से परिसूचक बढेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि २३ दशमलव २४ अंक माथी उक्लिएको छ । गत साता ३८६ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०९ दशमलव ४८ विन्दुमा पुगेको हो ।

गत साता ९ अर्ब ६६ करोड २६ लाख ८० हजार रूपैयाँ बराबरको २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता २० अर्ब ८७ करोड २० लाख ३८ हजार रूपैयाँ बराबरको ४ करोड ९६ लाख ८१ हजार ७१९ कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साताको तुलनामा यो साता ११ अर्ब २० करोड ९३ लाख ५७ हजार रूपैयाँ बराबरको २ करोड ६४ लाख १७ हजार ५६४ कित्ता बढी धितोपत्र खरीदविक्री भएको हो ।

यो साता लगानीकर्ताहरूको सम्पत्तिको मूल्य अर्थात कुल बजारपूँजीकरण १ खर्ब ७५ अर्ब ७२ करोड ३९ लाखले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख रहेको कुल बजारपूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख कायम भएको छ ।

यो साताको कारोबारमा लगानीकर्ता उत्साहित हुनुको पछि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा आएका नयाँ व्यवस्था र साउन १२ गते नेपाल धितोपत्र बोर्डले जारी गरेको नीति तथा कार्यक्रमलाईनै लिन सकिन्छ ।

यस वर्षको नयाँ नीतिहरू आगामी दिनमा बजारका लागि सकारात्मक प्रभाव पार्ने खालका भएकाले पनि लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्काको व्यवस्था खारेज गरी नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी दिनु र शेयर धितोकर्जाको अधिकतम सीमा १२ करोडनै कायम राखे पनि एक संस्थाबाट लिन सक्ने व्यवस्था गर्नुलाई लगानीकर्ताहरूले सकारात्मक रुपमा लिएको देखिन्छ ।

बोर्डले यस वर्षको नीति तथा कार्यक्रममा पुराना धेरै बुँदाहरुलाई निरन्तरता दिएपनि कार्यान्वयनले पूर्णता पाउने आशामा लगानीकर्ताहरू रहेका छन् । साथै नयाँ ब्रोकर लाईसेन्स थपको विषयले आगामी दिनमा ब्रोकरबाट पाउने सुविधामा पनि विविधिकरण आउँने हुँदा यसबाट बजार सकारात्मक बन्ने विश्वास पनि लगानीकर्ताको छ ।

यो साता सर्वाधिक कमाउनेमा वित्त समूहका लगानीकर्ता करीब २ खर्ब रूपैयाँले लगानीकर्ताको सम्पत्ति मूल्य बढेको यो साता वित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएको देखिन्छ । कारोबारमा आएका १३ समूहगत उपसूचकहरूमध्ये वित्त समूहको उपसूचक सर्वाधिक २१ दशमलव ९६ प्रतिशतले बढेको छ । सर्वाधिक कमाउने दोस्रो नम्बरमा भने विकास बैंक समूह रहेको छ । यस समूहको उपसूचक १७ दशमलव २७ प्रतिशतले बढेको छ ।

यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । वित्त र विकास बैंकसँगै जलविद्युतको १० दशमलव ५८ प्रतिशत, होटल तथा पर्यटन समूहको १० दशमलव ३० प्रतिशत, लघुवित्तको १० दशमलव शून्य २ प्रतिशत, लगानी समूहको ८ दशमलव शून्य ८ प्रतिशत, अन्य समूहको ७ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी व्यापारिक समूहको ४ दशमलव ८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव शून्य १ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २७ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव १० प्रतिशत, बैंकिङ समूहको १ दशमलव ८३ प्रतिशत र म्युुचुअल फण्ड समूहको शून्य दशमलव ४८ प्रतिशत उपसूचक बढेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarLockdownnepalNews
Comments (0)
Add Comment