गहुँ अभावले केही उद्योग बन्द, अधिकांशले उत्पादन कटौती गर्दै

१३ साउन, विराटनगर। विराटनगरको बाबा फ्लोर मिलले गहुँ अभावमा आफ्नो उत्पादनमा ७५ प्रतिशत कटौती गरेको छ । गोपाल फ्लोर मिल भने गहुँ नभएकै कारण बन्द भएको छ । ‘यसअघि एक हजार क्वीन्टल गहुँ पिस्दै आएको थिएँ, अहिले ३-४ सय क्वीन्टल मात्रै गहुँ पिसिरहेको छु,’ बाबा फ्लोर मिलका सञ्चालक भावेश राठी बताउँछन् । उनै राठीले चलाएको गोलाल फ्लोर मिल भने गहुँ अभावमा बन्द भएको छ ।

भारतले रुस–युक्रेनको युद्धले खाद्यान्न अभाव हुनसक्ने जनाउँदै गहुँ निर्यातमा रोक लगाएको छ । त्यसपछि नेपालमा गहुँबाट बन्ने खाद्य वस्तु उत्पादक उद्योगहरु प्रभावित भएका छन् । ‘बंगलादेशले पहल गरेपछि उसलाई भारतले गहुँ दिन थालेको छ । तर, हाम्रो देशमा सरकारले कुटनीतिक पहल गरेको छैन,’ राठी भन्छन्, ‘आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले भारतलाई पत्राचार गरिसकेको जानकारी दिनुभएको छ । तर, सचिवहरुसँग कुरा गर्दा रोटी खान गहुँ घरघरमा छ, उद्योगलाई पुग्ने नपुग्ने हामीलाई थाहा छैन भन्दै बसिरहेका छन् ।’

न्यूट्री फुड प्रा.लि.का सञ्चालक प्रदीप सारडाले प्रदेश १ मा रहेका उद्योगहरु बन्द हुँदा ६ सयभन्दा बढी मजदुर प्रभावित हुने र करोडौं रुपैयाँ लगानी जोखिममा पर्ने बताए । सरकारले भारतसँग कुरा गरेर तत्कालै गहुँ आयातको पहल गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा ५० करोडदेखि डेढ सय करोडसम्म लगानीका ३७ वटा गहुँबाट बन्ने खाद्य वस्तु उत्पादक उद्योग छन् । ती उद्योगबाट मैदा, सूजी, चोकर, आँटा उत्पादन हुँदै आएको छ । गहुँ अभावकै कारण चाउचाउ उद्योग, बेकरी, बिस्कुट, थुक्पा उद्योगहरु संकटमा परेको उद्योगीहरु बताउँछन् ।

मोरङ व्यापार संघका उपाध्यक्ष तथा नेपाल मैदा उत्पादक संघका सचिव विकाश बेगवानीका अनुसार तीन महिना अगाडि गहुँको मूल्य ३४ रुपैयाँ प्रतिकेजी थियो । अहिले ४६ रुपैयाँ प्रतिकेजी पुगेको छ र पनि गहुँ अभाव छ । ‘हामी धेरै ठूलो संकटमा पर्दैछौं,’ उनी भन्छन् ।

प्रदेश १ मामात्रै ७ वटा मिल छन् । अहिले ती सबै उद्योगले गहुँ अभावकै कारण उत्पादन कटौती गरेको जनाएका छन् । नेपालका उद्योगलाई वार्षिक १० लाख टन गहुँ आवश्यक पर्छ । नेपालमा मुस्किलले साढे तीन लाख टन गहुँमात्रै उत्पादन हुने गरेको बेगवानी बताउँछन् । ‘साढे ६ लाख टन गहुँका लागि भारतसँग निर्भर हुनुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘यहाँका उद्योगसँग अब मुुस्किलले २० दिन सम्मका लागि पुग्नेगरी गहुँको मौज्दात छ । सरकारले पहल गरेर भारतबाट गहुँ आयात गर्न सक्ने वातावरण नबनाए अब २० दिनपछि उद्योग बन्द हुने भयो ।’

मैदा उद्योगले वैशाखसम्म स्वदेशी गहुँ खरिद गरेर मौज्दात राख्ने र जेठदेखि भारतबाट आयात गर्दै आएका छन् । उद्योगीले भारतको विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पञ्जाब राज्यमा उत्पादन भएको गहँु बिहारको फारबिसगञ्ज, सिमराही, मोतीहारीगायतका क्षेत्रमा खरिद गर्दै आएका छन् ।

आजभन्दा १५ वर्ष अगाडि झापा, मोरङ र सुनसरीमा उत्पादित गहुँले यहाँको आवश्यकता पूर्ति गरी पश्चिम नेपालसम्म बिक्रीका लागि पठाउने गरिन्थ्यो । तर, अहिले आयात गर्नुपरिरहेको बेगवानी बताउँछन् । यसको कारण माग बढ्नु र उत्पादन पनि घट्दै जानु रहेको उनको भनाइ छ ।

भारतले गत मे २०२२ देखि आफ्नै देशमा खाद्यान्न संकट हुनसक्ने भन्दै गहुँ निर्यातलाई बन्द गरेको थियो ।

तथ्याङ्क अनुसार नेपालमै पर्याप्त गहुँ

सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुन्छ । नेपालको प्रमुख कृषिजन्य बालीमध्ये गहुँ तेस्रो नम्बरमा छ । आर्थिक वर्ष २०७४-०७५ को तुलनामा २०७६-०७७ मा गहुँ उत्पादनमा वृद्धि भएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४-०७५ मा ७ लाख ६ हजार ८४३ हेक्टर क्षेत्रफलमा १९ लाख ४९ हजार १ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६-०७७ मा गहुँ लगाइएको क्षेत्रफल ७ लाख ७ हजार ५०५ हेक्टर थियो भने उत्पादन २१ लाख ८५ हजार २८९ मेट्रिक टन छ ।

यस्तै प्रदेश १ मा आर्थिक वर्ष २०७५-०७६ मा गहुँ १ लाख ५९ हजार ४९८ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष ०७७-०७८ मा भने १ लाख ४८ हजार २३० मेट्रिक टन गहुँ उत्पादन भएको छ । पछिल्ला वर्ष गहुँ उत्पादन भने घट्दो क्रममा पाइएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNews
Comments (0)
Add Comment