भ्यु टावर बनाउन रुख काट्दा ७ जना पक्राउ

११ साउन, काठमाडाैँ । पर्सा राष्ट्रिय निकुञ्जले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४, नयाँ बस्तिस्थित ड्राइभर डाँडाको सामुदायिक वनमा सालको रुख काट्ने ७ जनालाई पक्राउ गरेको छ । भ्युटावर निर्माणका लागि सो स्थानमा सालको रुख काटेको आरोपमा निकुञ्जले स्थानीय ७ जनालाई पक्राउ गरी उनीहरु विरुद्ध वन मुद्दा दर्ता चलाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन् भने २ जना घर जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर घर फर्किइएको छ ।

उनीहरु ७० वर्षमाथि उमेरका भएकाले निकुञ्जले आवश्यक परेको अवस्थामा हाजिर गराउने गरी जमिनमा छोडेको हो । अन्य ५ जनालाई निकुञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

निकुञ्जका सहायक वार्डेन सूचना अधिकारी सन्तोष भगतले ड्राइभर डाँडास्थित निर्माणधिन भ्युटावर नजिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले रुख काटिएको आशंकामा ७ जनाविरुद्ध वन मुद्दा चलाएको जानकारी दिए । उनका अनुसार आरोपितमाथि १५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

त्यस्तै उनका अनुसार रुख काट्न संलग्न भएको आरोपमा अन्य आधा दर्जनभन्दा बढी स्थानीय निकुञ्जको अनुसन्धान घेराभित्र छन् । उनीहरुले साना–ठूला गरी करिब १ सयवटा रुख काटिएको उनले बताए । निकुञ्जका सहायक वार्डेन भगतका अनुसार रुख काट्नुको कारण हालसम्म नखुलेको बताए । ‘भ्यूटावर बनिरहेकाले जग्गा अतिक्रमण गर्ने उद्देश्य काटिएको आशंका छ । अनुसन्धानकै क्रममा भएकाले ठ्याक्कै कारण नखुलेको हो’, भगतले भने ।

पर्सा राष्ट्रिय निकुञ्ज अधिकार क्षेत्रभित्र पर्ने हरियाली मध्यवर्ती सामुदायिक वनमा नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न १४ नम्बर वडा कार्यालयले भ्यु टावर निर्माण गरिरहेको छ ।

भ्यु टावर निर्माणका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा मा ९ लाख ८९ हजार रुपैयाँका दरले खर्च गरेको थियो । हालसम्म सो भ्यु टावर निर्माण सम्पन्न भइसकेको छैन् । यसवर्ष पनि वडा कार्यालयले बजेट विनियोजन गरेको छ । भ्यु टावरको जग निर्माण गरेर भर्‍याङसहित पिल्लर ठड्याइएको छ ।

निकुञ्जले सो स्थानमा बन्दै गरेको भ्युटावर नजिक रुख कटान गरेको आरोपमा स्थानीयहरुलाई पक्राउ गरेपछि उनीहरु त्रसित बनेका छन् । चुरियामाई उपभोक्ता समिति अध्यक्ष मीनबहादुर घलानले स्थानीयले नियतबस रुख नकाटेको दाबी गरे । घलानलाई पनि निकुञ्जले दिनभर नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।

हेटौंडा–१४ नम्बरका वडा अध्यक्ष दीपक खड्काले स्थानीयहरुले दाउराका लागि टुक्रा र साना हाँगा काटेको दाबी गरेका छन् । निकुञ्जले भने झै स्थानीयहरुले ठूला रुख नकाटेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment