अमेरिका: बन्दुकधारी सन्दिग्धलाई हत्याको आरोप, पहिले पनि दिएका थिए ज्यान मार्ने धम्की

२२ असार, बीबीसी । स्वतन्त्रता दिवसको अवसरमा शिकागोनजिकै आयोजित एक सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गर्ने व्यक्तिलाई सात वटा हत्याको आरोप लगाइएको अधिकारीहरूले बताएका छन्।

लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रेमोलाई सजाय दिइने बताए।

हाइल्यान्ड पार्कमा भएको आक्रमणमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए।

राइनहार्टका अनुसार अनुसन्धानका क्रममा उनी विरुद्ध थप आरोप दर्ता गरिनेछ।

“अहिले दर्ता गरिएको आरोप क्रेमोविरुद्ध दर्ता गरिने थुप्रै आरोपहरू मध्ये पहिलो हो,” उनले मङ्गलवार एक पत्रकार सम्मेलनमा भने।

“म यस कुरामा जोड दिन चाहन्छु- उनी विरुद्ध थप आरोपहरू लाग्ने छन्।”

सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा जम्मा भएको भिड लक्षित ७० वटा गोली प्रहार गरेका थिए। त्यसपछि उनी पीडितहरूसँगै भाग्नका निम्ति महिलाको भेषमा देखिएका थिए।

सोमवार आठ घण्टा लामो अनुसन्धान पछि प्रहरीले क्रेमोलाई पक्राउ गर्‍यो र उनीबाट आक्रमणमा प्रयोग गरिएको जस्तै दोस्रो राइफल बरामद भयो।

उनको घरमा अन्य तीन वटा हतियार फेला परेको प्रहरीले जनाएको छ।

ती सन्दिग्ध व्यक्तिले गत वर्ष पाँच वटा बन्दुक खरिद गर्नु अघि कानुनी जानकारसँग दुई पटक सम्पर्क गरेको प्रहरीले जानकारी दिएको छ।

सन् २०१९मा आत्महत्या गर्ने प्रयास गरेको बताइएको एक साता पछि प्रहरीलाई ती व्यक्तिको घरमा बोलाइएको थियो।

सोही वर्ष सेप्टेम्बरमा एक परिवारका सदस्यले प्रहरी समक्ष क्रेमोले “सबैलाई मार्ने” हिंसात्मक धम्की दिइरहेको बताएका थिए।

त्यति बेला प्रहरीले उनको घरबाट १६ वटा चक्कु, एउटा भाला र एउटा तरबार जफत गरेको थियो। उनी पक्राउ भने परेनन् र उनी विरुद्ध थप कारबाही पनि भएन।

अधिकारीहरूले मङ्गलवार राज्यको रेड फ्ल्याग कानुनहरूबारे सचेतना अभियान सञ्चालन गर्न आह्वान गरे जसले न्यायाधीशलाई खतरनाक मानिने व्यक्तिलाई उनीहरूको हतियार जफत गर्न र थप बन्दुकहरू किन्नबाट प्रतिबन्ध लगाउन आदेश दिने अनुमति दिन्छ।

क्रेमो बुधवार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।

घटनाबारे मानिसहरूमा थपिएको केही जिज्ञासाहरूबारे इलिनोइसस्थित नोमीया इकबलले लेखेकी छन्।

“यहाँ मानिसहरू स्तब्ध छन्। परेडमा सहभागी भएका कतिपय आफ्नो सामान लिनका लागि फर्किएका छन्।

केही मानिस चुपचाप उभिन्छन् र घटनास्थल नियाल्छन्। उनीहरू घटना हुँदा कहाँ उभिएका वा बसेका थिए सम्झन कोसिस गर्छन्।

त्यहाँबाट भाग्न सफल एक महिलाले घटनाक्रमबारे बुझ्न र त्यसबाट बाहिर निस्कन सामुदायिक सल्लाहकारहरूबाट सहयोग लिइरहेको बताइन्।

यस सहरमा आतङ्क मच्चाएका सन्दिग्ध व्यक्तिलाई अहिले सात वटा हत्याको आरोप लगाइएको छ। आरोपहरू अझै थपिन सक्छ।

सरकारी वकिलले पत्रकार सम्मेलनमा उनी विरुद्ध लगाइने आरोपहरू पढ्दा त्यहाँ मानिसहरू खुसी हुँदै ताली बजाए।

तर केही प्रश्नहरू बाँकी छन्। केही वर्षअघि सन्दिग्ध व्यक्तिले मानिसलाई मार्ने धम्की दिएको र प्रहरीले उनीबाट चक्कु जफत गरेको देखिएको छ। त्यसका बाबजुद गत वर्ष वैध ढङ्गमै थुप्रै बन्दुकहरू किन्न उनी कसरी सफल भए? मानिसहरू जान्न उत्सुक छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment