सयपत्री हाइड्रोपावरको ‘आईपीओ’ छोटो समयमा बिकेन, म्याद थप

१६ असार, काठमाडाैँ । सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आयोजना प्रभावित क्षेत्र बागलुङ्गका बासिन्दाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को निष्कासन तथा बिक्री खुला अवधि लम्बिएको छ ।

आईपीओमा छिटोमा असार १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेकोमा यस अवधिमा प्रयाप्त आवेदन नपरेपछि ढिलो मितिसम्म आवेदन समय लम्बिएको हो ।

यससँगै अब स्थानीयले असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो अवधिभन्दा अगावै मागअनुसार आवेदन परेको खण्डमा भने कम्पनीले सार्वजनिक सूचना मार्फत निष्काशन बन्द गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० अङ्कित दरमा ३ करोड मूल्य बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

स्थानीयबासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट सेयर खरिदका लागि आवदेन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ । न्यूनतम १० देखि ३० हजार कित्तासम्म सेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले ताराखोला गाउँपालिका–३ मा साढे दुई मेगावाटको ‘दरमखोला–ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ । कुल ५१ करोड रूपैयाँको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ । निजी क्षेत्र र स्थानीयबासीले पनि आयोजनामा लगानी रहेको कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment