सुन्दरीजलबाट गोकर्णसम्मको बागमती किनारमा सफाइ

२६ जेठ, काठमाडौं । विश्वव्यापी सफाइ अभियानअन्तर्गत काठमाडौँको सुन्दरीजलदेखि गोकर्णसम्मको वाग्मती नदी किनारको दायाँबायाँ सफाइ गरिएको छ । विलभयु फाउन्डेसनले आयोजनामा भएको सफाइ अभियानमा वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जनप्रतिनिधिले शासक नभई सेवक हौँ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताए ।

वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाइ अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा दुई वटा रुख रोप्नुपर्नेमा उनले जोड दिए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले घरबाट निस्कने फोहरको व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा नगरपालिकाले प्रत्येक परिवारलाई कुहिने र नकुहिने फोहर सङ्कलनका लागि भाँडा उपलब्ध गराउने तयारी गरिएको जानकारी दिए।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय तहको फोहर स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने भन्दै फोहरलाई मोहोर बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । फाउण्डेसनका अध्यक्ष शोभाकर घिमिरेले वातावरण संरक्षणका लागि सरसफाइ र वृक्षरोपणका साथै मानवीय र विपद् व्यवस्थापनमा संस्थाले सहयोग गर्दै आएको बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment