कस्तो बन्छ भरतपुर महानगरपालिकाको कार्यपालिका?

१२ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको अन्तिम मतगणना सार्वजनिक भइसकेको छ। यस महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले जित निकालेका छन्। यो महानगरपालिकामा सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच र एमाले-राप्रपाबीच तालमेल भएको थियो। अन्तिममा सत्ता गठबन्धनले जित निकालेको हो।

माओवादी केन्द्रले प्रमुखमा जित निकालेको भए पनि महानगरपालिका अन्तर्गतका २९ वटै वडामा उसको उपस्थिति सशक्त छैन। वडा अध्यक्षदेखि सदस्यहरुसम्म बरु कांग्रेसले नै प्रभावकारी उपस्थिति देखाउन सकेको छ।

अन्तिम मत परिणाम अनुसार, कांग्रेसले भरतपुर महानगरपालिका १६ वटा वडाको अध्यक्ष जितेको छ। त्यस्तै, ३० वटा (खुला) सदस्य, १२ वटा महिला सदस्य र १६ वटा दलित महिला सदस्य जितेको छ। उपप्रमुखसहित भरतपुर महानगरपालिकामा कांग्रेसका जनप्रतिनिधिको संख्या ७५ पुगेको छ।

त्यस्तै, एमालेले ६ वटा वडा अध्यक्ष, २१ वटा (खुला) सदस्य, १४ वटा महिला सदस्य र ११ वटा दलित महिला सदस्य जितेको छ। उसका जम्मा जनप्रतिनिधि ५२ जना पुगेका छन्।

महानगर प्रमुखसहित माओवादी केन्द्रका जनप्रतिनिधि १० जना छन्। उसले ३ वडाअध्यक्ष, ४ (खुला) सदस्य, र २ दलित महिला सदस्यमा जित निकालेको छ।

त्यसैगरी, एकीकृत समाजवादीका ५, राप्रपाका ४ र स्वतन्त्र हैसियतका १ जना जनप्रतिनिधि पनि निर्वाचित भएका छन्।

भरतपुर महानगरपालिकामा २९ वटा वडा भएकाले यहाँ जम्मा जनप्रतिनिधि १४७ जनाको हुनेछ। यो नै भरतपुर महानगरपालिकाको नगरसभा हो। नगरसभामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पूर्ण वडा सदस्यहरु रहने संवैधानिक व्यवस्था छ।

नगरसभामा कांग्रेसको एकल बहुमत छ।अब लागौं नगर कार्यपालिकातिर। सम्बन्धित (महा)नगरपालिकामा गठन हुने यस्तो कार्यपालिका निकै महत्त्वपूर्ण संरचना हो। नगर कार्यपालिकामा स्थानीय तहको कार्यकारिणी अधिकार निहित हुन्छ। नगर कार्यपालिकाबाट बजेट तथा कानुनहरु पारित भएपछि मात्रै कार्यान्वयनमा आउने गर्छन्। नगर सभामा निर्वाचित जनप्रतिनिधिहरूको कुल संख्याको बहुमत-अल्पमतको अंकगणितको आधारमा नगर प्रमुखले अगाडि सारेका कार्यक्रमहरू अघि बढ्न सक्ने अवस्था रहन्छ।

नेपालको संविधानको धारा २१६ मा नगर कार्यपालिकासम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, प्रत्येक वडाका वडा अध्यक्ष, नगर सभाबाट निर्वाचित ५ जना महिला सदस्य र ३ जना दलित वा अल्पसंख्यक समुदायबाट रहने छन्। महिला सदस्यहरु नगरसभा (निर्वाचित जनप्रतिनिधिहरु) बाटै चयन हुनुपर्ने भए पनि दलित वा अल्पसंख्यकको हकमा भने नगर सभा सदस्य वा सम्बन्धित नगरपालिकाभित्रको मतदाता भए पुग्छ।

भरतपुर महानगरपालिकामा २९ वटा भएकाले त्यहाँ ३९ जनाको नगर कार्यपालिका गठन हुन्छ। त्यहाँ कांग्रेसको वर्चस्व हुने निश्चितप्रायः छ। किनकि, उसले महानगरपालिकाको उपप्रमुख जितेको छ। २९ मध्ये १६ वटा वडाको अध्यक्ष जितेको छ। नगरसभामा पनि उसकै बहुमत भएकाले त्यहाँबाट निर्वाचित भएर आउने ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक पनि उसैले चाहे अनुसार हुन्छन्।

अहिलेसम्म नगर कार्यपालिकामा माओवादी केन्द्रकोतर्फबाट ४ जना (एक प्रमुखसहित ३ जना वडा अध्यक्ष) निश्चित छ। एमालेको ६, एकीकृत समाजवादीको ३ र स्वतन्त्र एक जना रहने पनि निश्चित छ। कार्यपालिकामा कांग्रेस बाहेक बाँकी सबै दल मिलेमा पनि बहुमत पुर्यामउने सक्ने सम्भावना छैन।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment