तुलसीपुरको उपप्रमुखमा पहिलो पटक थारू महिला

११ जेठ, तुलसीपुर । दाङ तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व भएको छ । तुलसीपुर नगरपालिका हुँदा होस् या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारूको प्रतिनिधित्व थिएन । विसं २०४९ मा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुवै पुरुष थिए । प्रमुखमा शङ्करप्रसाद आचार्य हुनुहन्थ्यो भने उपप्रमुखमा प्रदीपबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।

त्यतिबेला दुवै पद कांग्रेसले जितेको थियो । त्यस्तै २०५४ सालमा प्रमुख पदमा एमालेका ढुण्डिराज लामिछाने हुनुहुन्थ्यो भने उपप्रमुखमा एमालेकै घनश्याम पाण्डे हुनुहुन्थ्यो । पाण्डे २०७४ सालको निर्वाचनमा प्रमुखमा निर्वाचित हुनुभएको थियो । त्यस्तै उपप्रमुखमा एमालेकै माया आचार्य निर्वाचित हुनुभएको थियो ।

अहिलेको निर्वाचनबाट भने तुलसीपुरले थारू महिला पाएको छ । नीति निर्माण तहमा थारू महिला पुग्नु भनेको थारू समुदायका लागि सकारात्मक पक्ष भएको नवनिर्वाचित उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । “तुलसीपुर थारू समुदायको बाहुल्यता भएको ठाउँ हो,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म प्रमुख, उपप्रमुखमा थारू महिलाको प्रतिनिधित्व हुन सकेको थिएन ।”

को हुन्, स्यानी ?

बालबालिका सडकमा हिँडिरहेका हुन्छन् । भोक तिर्खाले उनीहरुको सीमा नाघिसकेको हुन्छ । के खाउँ, के गरौँ भइरहेको हुन्छ । यो दृश्य स्यानी चौधरीले देख्नुहुन्छ, अनि उहाँका आँखा रसाउँछन् र सोच्नुहुन्छ, यस्ता बालबालिकालाई मैले पाल्छु ।

न त राज्यको सहयोग, न त अन्य कुनै निकायकै सहयोग । मात्र आफ्नै लगानीमा दिदी सङ्घसंस्था दर्ता गर्नुभयो । त्यस्ता बालिबालिकालाई आश्रय गर्ने ठाउँ दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित आफ्नै घरमा उहाँले उक्त संस्था सञ्चालनमा ल्याएर सहाराविहीन बनेका, सडकमा भाँैतारिएर हिँड्ने बालबालिकालाई आश्रय दिँदै आउनुभएको छ ।

उहाँले आफ्नै कमाईबाट बालबालिकालाई पालन पोषण गर्न थाल्नुभयो । “मेरा छोराछोरी पनि छैनन्,” उहाँले भन्नुभयो, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरुले गर्न दिएका छैनन्, उनीहरुलाई नै छोराछोरी जसरी पालेकी छु ।” उहिले उहाँसँग ३० बालबालिका छन् । पहिले डुम्रीगाउँमा मात्रै उनीहरुलाई राख्ने गरेको भए पनि केही महिनाअघि देखि फूलबारीमा पनि शाखा विस्तार गर्नुभएको छ । विसं २०६१ मा उहाँले ‘दिदी घर’ संस्था सञ्चालन गर्नुभएको हो ।

विसं २०६१ देखि २०७२ सम्म उच्च शिक्षा प्राप्त गर्न नसक्ने ४० जना गरिब विद्यार्थीलाई आर्थिक सहयोग पनि गर्नुभयो । उहाँकै आर्थिक सहयोगमा पढेका विद्यार्थी अहिले केही डिग्री पास पनि गरिसकेका छन् । कोहीले लयर पढ्दैछन्, कोही जागिरे छन् । विसं २०७३ देखि उहाँले १० जना बालबालिकालाई राख्नुभएको हो । उहाँले बालबालिकालाई पालनपोषणदेखि शिक्षादीक्षासमेत दिने गर्नुभएको छ । उहाँहरुलाई पढाउनका लागि घरमै पनि शिक्षिका राख्नुभएको छ ।

यस्तै बालबालिकाको पठनपाठन र शिक्षादीक्षाका लागि सर्वसुलभ र निःशुल्क शिक्षा बनाउने स्यानीले योजना बनाउनुभएको छ ।

‘छोरी पढ्नु हुन्न भन्ने मान्यता थियो’

थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहुन्छ, स्यानी । पढाइ जीवनका उहाँका सङ्घर्ष पनि कम छैनन् । उहाँको घर पहिले फूलबारी हो । त्यहाँ विद्यालय थिएनन् । त्यसैले उहाँ पढ्नका लागि उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा बर्सादको बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा हुन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उहाँ आफैँ पनि पौडी खेलेर वारपार गर्नुहुन्थ्यो ।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उहाँले त्यतिबेला कक्षा लिइन् तर निकै कठिन सङ्घर्ष गरेर । “केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो,” उहाँले भन्नुभयो, “त्यसपछि म आफँै केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे ।” थारू समुदायमा व्याप्त कमैया, कम्लहरी प्रथा थियो । ती कुसंस्कारलाई कम गर्न स्यानीले निकै योगदान गर्नुभएको छ ।

पिछडिएको थारु समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्नसमेत वञ्चित भएको थारू महिलाका लागि पनि हौसला, उत्साह, जोसजाँगर दिने काम गर्दै आउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalPolitic
Comments (0)
Add Comment