सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्रीले पठाए ‘धन्यवाद’ सन्देश

०१ जेठ, काठमाडाैँ । स्थानिय तह निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा प्रमुखहरुलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई ‘धन्यवाद’ सन्देश पठाएका हुन् । आइतबार प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरुलाई धन्यवाद दिएका हुन् ।

चुनौतीका बावजुद स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा प्रधानमन्त्रीले सुरक्षा निकायको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । एकै चरणमा निर्वाचन सम्पन्न गराउँदा सुरक्षा निकायले व्यावसायिकता र संयम देखाएको भन्दै प्रधानमन्त्रीले सुरक्षा निकायको प्रशंसा गरेका छन् । कुल १० हजार ५७६ मतदान स्थलमध्ये ४७ ठाउँमा निर्वाचन स्थगित भएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भयो । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपपछि बेपत्ता जुनमायाको शव वैशाख २६ मा भेटिएको थियो ।

जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् । हत्या आरोपमा पक्राउ परेकाहरु नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् ।

उदयपुरको कटारी नगरपलिका–१० स्थित सोरुङ छबिसेमा मतपेटिका उठाउने बेलामा झडप हुँदा वीर बहादुर कटुवालको मृत्यु भएको छ । आइतबार मध्यान्हसम्म मृतक कटुवालको शव उठ्न सकेको छैन । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतपेटिका केन्द्रतिर ल्याउँदै गर्दा दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको छ ।

शनिवार सोताङ गाउँपालिका–३ मा काँग्रेस र एमालेका कार्यकर्ताका बीचमा झडप हुँदा सुदिप राईको मृत्यु भएको सोलुखुम्बुका डिएसपी सुनिलजंग शाहले रातोपाटीलाई बताए । मृतक राई माओवादीका कार्यकर्ता हुन् । ०७४ को स्थानिय तह निर्वाचनमा ८ जनाले ज्यान गुमाएका थिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment