पाँच मतदान केन्द्र महिलाको जिम्मामा

२५ बैशाख, काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि जिल्लामा पाँच मतदान केन्द्रमा अधिकृतसहित सबै महिला कर्मचारीलाई जिम्मेवारी प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ अरनीको मैदानमा रहेको मतदान केन्द्र ‘घ’मा माया श्रेष्ठ र सहायक मतदान अधिकृतमा सावित्राकुमारी गौतमलाई तोकिएको छ । सो मतदान केन्द्रमा दुई सहायक कर्मचारी र एक सहयोगी पनि महिला नै रहनुभएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका–१६ अम्बापुरमा ‘क’ मतदान केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारीलाई तोकिएको छ । त्यसैगरी दुई सहायक कर्मचारी र एक सहयोगी पनि महिलालाई नै जिम्मेवारी दिएको बताइएको छ ।

सोही विद्यालयको ‘ख’ मतदान केन्द्रमा मोतीकुमारी विश्वकर्मालाई मतदान अधिकृत र विमलाकुमारी पोखरेललाई सहायक मतदान अधिकृतको जिम्मा दिइएको छ । सो मतदान केन्द्रमा दुई जना सहायक कर्मचारी एक सहयोगी पनि महिलालाई नै तोकिएको छ ।

सोही विद्यालयकै ‘ग’ मतदान केन्द्रमा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनीलाई तोकिएको छ । उक्त केन्द्रमा सहायक कर्मचारी दुई र एक सहयोगी पनि महिला नै तोकिएको बताइएको छ ।

उता लमही नगरपालिका–५ को खिमबहादुर मावि कोलही मतदान केन्द्रमा मतदान अधिकृतमा सम्झना शर्मा र सहायक मतदान अधिकृतमा सुशीला शाह रहनुभएको छ । दुई सहायक र एक सहयोगी पनि महिला रहनुभएको निर्वाचन कार्यालयले जनाएको छ । महिला कर्मचारी खटिएका मतदान केन्द्रमा महिला प्रहरी नै खटाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार सुरक्षाकर्मी र कर्मचारी आवश्यक निर्वाचन सामग्री लिएर आगामी मङ्गलबार पठाइने छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् भने चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् । त्यसमा महिला मतदाता दुई लाख नौ हजार ९९ र पुरुष मतदाता दुई लाख सात हजार ९९ र दुई जना तेस्रोलिङ्गी रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19Dangdigital khabardigitalkhabareducationelectionElection CommissionhealthInternationalnepalnepal policeNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineVoteWeather
Comments (0)
Add Comment