आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

१० बैशाख, काठमाडौँ । पुस्तक पढ्ने र लेख्नेहरुको उत्सव अर्थात ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’ आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

अझ भनौँ न पुस्तकमा रमाउनेहरुको उत्सव । सन् १९९५ अप्रिल २३ तारिखका दिनदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइने गरिन्छ ।

विश्व पुस्तक दिवस कार्यक्रमको अपनत्व युनेस्कोले लिँदै आएको छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न पुस्तक दिवस मनाइन लागिएको हो ।

लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिनलाई विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाइन्छ ।
विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मजयन्ती तथा स्मृति दिवसको मौका पारेर युनेस्कोले अप्रिल २३ का दिन नै यो दिवस मनाउने निर्णय गरेको हो । त्यसो त अप्रिल २३ का दिन अन्य विश्वप्रसिद्ध साहित्यकारहरुको स्मृति दिवस पनि पर्दछ ।

प्रसिद्ध स्पेनिस साहित्यकार मिगेल डि सेर्भान्टेसको स्मृति दिवस पनि आजकै दिन पर्दछ । त्यस्तै मौरिस ड्रुअन, जोसेप प्ला तथा ह्यालडोर ल्याक्सनेसको पनि जन्म तथा स्मृति दिवस अप्रिल २३ का दिन नै पर्दछ ।

पुस्तक दिवसको प्रचलन स्पेनबाट सुरु भएको हो । अप्रिल २३ का दिन स्पेनमा ‘गुलाब दिवस’ मनाइन्थ्यो । भ्यालेन्टाइन दिवसका दिन जस्तै एक अर्का गुलाब साटासाट गरेर एकअर्काप्रति माया र सद्भाव साट्ने गर्थे । तर सन् १९२६ मा स्पेनिस लेखक मिगेल डि सेर्भेन्टासको स्मृति दिवस पारेर गुलाबको साटो स्पेनी नागरिकहरुले पुस्तक आदान–प्रदान गर्न थालियो । स्पेनमा सन् १९२६ बाटै पुस्तक दिवस जस्तै गरी विशेष कार्यक्रम मनाइन्थ्यो । त्यसैबाट विश्व पुस्तक दिवस मनाउने अवधारणा आएको थियो । विश्व पुस्तक दिवसका दिन विश्वभर नै विभिन्न साहित्यिक उत्सव तथा समारोहहरु आयोजना गरी मनाइन्छ ।

तर बेलायत र आयरल्याण्डमा भने अप्रिल २३ का दिन पुस्तक दिवस मनाइँदैन । अप्रिल २३ का दिन बेलायत र आयरल्याण्डमा सेन्ट जर्ज डे मनाइने भएकाले मार्च १ का दिन नै पुस्तक दिवस मनाइने गरिन्छ ।

नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ ।



मल्टिमिडिया ग्यालरी

BookbusinessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalMeetingnepali congressNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeatherWorld Book DayWorld Economics
Comments (0)
Add Comment