भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन

०८ चैत, त्रिशूली । नुवाकोटका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निवेदन सङ्कलन सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ अनुसार आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेका जिल्लाका आठ स्थानीयतहले सूचना जारी गरेर निवेदन सङ्कलन सुरु गरेको हो ।

आयोगले गत फागुन २६ मा प्रकाशन गरेको ‘निवेदन दिनेसम्बन्धी ३५ दिने सूचना’ अनुसार आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेका जिल्लाका स्थानीयतहले वडा कार्यालयमार्फत निवेदन सङ्कलन सुरु गरेको जिल्ला अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको म्यागङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर, शिवपुरी र ककनी गाँउपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिको लागि जारी गरिएको सूचनाअनुसार निवेदन सङ्कलन गर्न वडास्तरीय समितिमार्फत निर्णय गराएर काम अघि बढाइएको छ ।

“जिल्लामा १३ पालिका रहेकोमा विदुर नगरपालिकाले यही चैत ४ गते सम्झौता गरेको छ भने बाँकी तीनवटा पालिकाले सम्झौताको लागि आयोगको केन्द्रीय कार्यालयमा जाने तयारी गरिरहेका छन्”, अध्यक्ष न्यौपानेले भन्नुभयो, “सम्झौतापश्चात् मात्र आयोगले काम अघि बढाउन अनुमति दिने हुँदा सम्झौता गरेका पालिकाको वडामा प्राप्त निवेदनको कागजात पूरा भएकाबाट जग्गा प्रदान गर्न कारबाही अघि बढाउन लागिएको छ ।”

अहिले स्थापना भएको राष्ट्रिय भूमि आयोगले यसअघिका आयोगलगायतका समितिले सुरु गरेको तर सम्पन्न नभएका कामकारबाहीको पनि अपनत्व लिने निर्णय गरेको छ ।

चैत ७ गते सोमबार बसेको राष्ट्रिय भूमि आयोग, जिल्ला कार्यसमिति नुवाकोटको तेस्रो बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश अधिकार प्रयोग गरी विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्नेसम्बन्धी कार्यविधिलाई तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

उक्त निर्णयको आधारमा यसअघि गत वर्ष गठन भएको ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ले सङ्कलन गरेको निवेदनलाई स्वीकार गर्ने भएको हो । यो निर्णयको आधारमा यसअघिको आयोगले सङ्कलन गरेर छानबिन अघि बढाएका १८४ थान निवेदन सदर हुने भएको छ ।

यसअघि निवेदन दिइसकेकाले अहिले पुनः निवेदन दिइरहनु पर्दैन तर, आवश्यक कागजात तथा दाबी प्रमाण पेश गर्न बाँकी रहेमा तथा आयोगले माग गरेमा भने उपलब्ध गराउनुपर्ने जिल्ला अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोग, जिल्ला समितिको कार्यालय नुवाकोटको पदाधिकारीले पूर्णता पाएको छ । यसअघि गत माघ ३ गते आयोगको जिल्ला अध्यक्षमा अर्जुनप्रसाद न्यौपाने चयन भए पनि बाँकी रहेका तीन सदस्यले सोमबार पूर्णता पाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सदस्यमा नियुक्त भएका तीनजनाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । जिल्ला अध्यक्ष न्यौपानेले आयोगको विज्ञ सदस्यमा अधिवक्ता राजाराम थपलियासहित सदस्य प्रह्लाद भुजेल र महिला सदस्यमा सुभद्रा नेपाललाई पद तथा गोपनीयताको सपथसहित जिम्मेवारी प्रदान गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment