ताकमकोतबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल

२९ पुस, बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीयस्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो ।

समुन्द्री सतहदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको कोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएका उहाँले करिब आधा घण्टा आकासमै बिताएर ताकमको किमचौर फाँटमा अवतरण गर्नुभएको स्थानीयवासी कृष्णराज पौडेलले जानकारी दिनुभयो ।

‘‘यो ताकमकोतबाट भएको पहिलो प्याराग्लाइडिङ हो, आँखै अगाडि देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै उहाँले प्याराग्लाइडिङ गर्नुभयो, यहाँबाट प्याराग्लाइडिङको उडान गर्ने सम्भावनालाई उजागर भएको छ’’– उहाँले भन्नुभयो ।

ताकमदेखि मोटरसाईकल हुँदै कोत परिसर पुगेर पर्यटकले आकासमा प्याराग्लाइडिङ गर्नुभएको थियो । खुला आकासमा चराजस्तै उडेर वरिपरिका हिमालको अवलोकनसँगै भू–सतह नियाल्नुको आनन्दले लोभ्याएको उहाँले प्रतिक्रिया दिनुभयो ।

ऐतिहासिक ताकम कोत मन्दिर पुनःनिर्माण गरी अन्य पर्यटन पूर्वाधार निर्माण भइरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । ताकम गाउँको शिरमा रहेको यो कोतमन्दिर १६आँै शताब्दीमा तत्कालीन राजाले निर्माण गरेका थिए ।

पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विजया दशमीको नवदुर्गा, जेष्ठ पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बलि चढाउन यस कोतमा भक्तजनको घुइँचो लाग्नेगर्छ । कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

ताकमकोतबाट बाइसे-चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ । धार्मिक दृष्टिकोणमा महत्वपूर्णस्थलको रुपमा परिचित ताकमकोत क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र हो । यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

धार्मिक, ऐतिहासिक महत्व बोकेको ताकमकोतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष कलानिधि सुवेदीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesbusinessCoronavirusCovid-19Deathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment