आफ्ना भूउपग्रहले अन्तरिक्ष ओगटेको आरोप अस्वीकार – इलोन मस्क

१८ पुस, बीबीसी । इलोन मस्कले उनको स्टारलिङ्क इन्टरनेट परियोजनाका भूउपग्रहले अन्तरिक्षमा धेरै ठाउँ ओगटेको दाबीलाई अस्वीकार गरेका छन्। उनले फाइनान्सियल टाइम्सलाई पृथ्वी नजिकको कक्षमा “दशौँ अर्ब” भूउपग्रहहरू अटाउन सक्ने बताएका छन्।

युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएका प्रमुखले उदीयमान व्यावसायिक अन्तरिक्ष उद्योगको लागि मस्कले “नियम बनाइरहेको” आरोप लगाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

गत साता चीनले मस्कको भूउपग्रहसँग टक्करबाट बच्न आफ्नो अन्तरिक्ष स्टेसनलाई मार्ग परिवर्तन गर्नुपरेको दाबी गर्दै अन्तर्राष्ट्रिय एजेन्सीमा गुनासो गरेको थियो।

मस्कले भने, “अन्तरिक्ष एकदमै विशाल छ र भूउपग्रहहरू धेरै साना छन्।”

स्टारलिङ्क इन्टरनेट सेवा परियोजनाले भूउपग्रह उद्योगमा प्रतिस्पर्धीहरूको प्रवेशमा बाधा पुर्‍याइरहेको आरोपलाई अस्वीकार गर्दै मस्कले भूउपग्रहहरूको लागि पृथ्वीको कक्षमा पर्याप्त ठाउँ रहेको बताए।

“हामी अरूलाई कुनै पनि तरिकाले अवरोध पुर्‍याएका छैनौँ। हामीले कसैलाई पनि केही गर्नबाट रोकेका छैनौँ,” उनले भने।

“केही हजार भूउपग्रहहरू धेरै हुँदै होइन। पृथ्वीमा हजारौँ कारहरू धेरै नभए जस्तै हो,” उनले थपे।

गत महिना ईएसएका निर्देशक जोसेफ एचवाकरले स्टारलिङ्कले प्रक्षेपण गरेका एक हजारभन्दा बढी भूउपग्रहहरूले अरू प्रतिस्पर्धीलाई कम ठाउँ उपलब्ध हुने बताएका थिए।

अरू विज्ञहरूले पनि मस्कको तर्कमा असहमति जनाउँदै अन्तरिक्ष यानहरूले एक अर्काबीच दूरी कायम राख्नुपर्ने बाध्यता आइसकेको बताएका छन्।

वैज्ञानिकहरूले यसअघि पनि अन्तरिक्षमा भूउपग्रहहरूबीच टक्करहरूको जोखिमबारे चिन्ता व्यक्त गर्दै पृथ्वीको परिक्रमा गरिरहेका अनुमानित ३०,००० भूउपग्रह र अन्य भग्नावशेषहरूको बारेमा जानकारी साटासाट गर्न विश्वभरका सरकारहरूलाई आह्वान गरेका छन्।

चीनले आफ्नो अन्तरिक्ष स्टेसनलाई मस्कको भूउपग्रहहरूसँग टक्करबाट बच्न बाध्य पारेको गुनासो गरेपछि मस्कको सामाजिक सञ्जालमा आलोचना भएको थियो।

चीनले दुई पटक “नजिकको टक्कर” छल्न स्टेसनको मार्ग परिवर्तन गरेको जनाएको छ। उक्त घटनाहरू जुलाई १ र अक्टोबर २१ मा भएको चीनले संयुक्त राष्ट्रसङ्घको कार्यालयमा बुझाएको कागजातमा उल्लेख छ।

प्रकाशित विवरणहरूका अनुसार बेइजिङले “चीनको अन्तरिक्ष स्टेसनले दुर्घटनाबाट बच्न रोकथाम नियन्त्रणका उपायहरू” अपनाएको जनाएको छ।

अन्तरिक्ष एजेन्सीमा चीनले उजुरी दर्ता गर्नु पछाडिका घटनाहरूको स्वतन्त्र रूपमा अझै पुष्टि भएको छैन।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

चीनले अमेरिकाले अन्तरिक्ष सन्धि अन्तर्गतको दायित्वलाई बेवास्ता गरेर अन्तरिक्षयात्रीहरूलाई खतरामा पारेको आरोप पनि लगाउँदै आएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनले अमेरिकालाई जिम्मेवार भएर काम गर्न आग्रह गरिरहेको बताएका थिए।

मस्कको स्पेसएक्सले करिब १,९०० भूउपग्रहहरू प्रक्षेपण गरिसकेको छ भने अझै हजारौँ भूउपग्रहहरू छोड्ने योजना बनाएको छ।



मल्टिमिडिया ग्यालरी

digital khabarInternationalinternational newsnepalNews
Comments (0)
Add Comment