कैदी फरार प्रकरण : हाजिरी जमानतमा छुटे जेलर

१७ पुस, दाङ । दाङको घोराही कारागारका जेलर युवराज परियार हाजिरी जमानतमा छुटेका छन् । दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जेलर परियार अदालतको आदेशपछि रिहा भएको जानकारी दिए। पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन्।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छोड्न आदेश दिएको हो ।’ घोराही कारागारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले घटनाको अझै अनुसन्धान भइरहेको बताए ।

फरार नाइके यमराज परियार र जेलर युवराजका बीचमा दाजुभाइको जस्तै सम्बन्ध रहेको तथा त्यही भएर कारागारभित्रै पनि यमराजलाई लज जस्तै सुविधा तथा अधिकार दिएको आरोप लागेको थियो । पुस ८ गते कारागारका नाइके यमराज परियार प्रहरीकै मोटरसाइकल लगेर भागेपछि घटना अनुसन्धानका लागि भन्दै पुस १२ गते जेलर परियारसहित सात जना पक्राउ परेका थिए।

कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद भुक्तान गरेका कारागारका नाइके परियारलाई जिल्ला अदालतबाट २० वर्ष सजाय तोकिएको छ। फरार नाइके परियारको खोजी कार्यका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि खटिएको छ ।

नाइके यमराजलाई भगाउन तीन जना प्रहरीको समेत मिलेमतो रहेको पाइएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । घटनामा संलग्न प्रहरीका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा एउटा छानबिन समिति पनि गठन गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCourtcrimeDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (1)
Add Comment