खड्का र गुरूङ उपसभापति निर्वाचित, गच्छदार २ मतले पराजित

०१ पुस, काठमाडौं । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएका छन्। खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्।

देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा परेका छन्। उनले १९०६ मत ल्याए।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुन: गणनाको माग गरेका थिए। यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो।

यसअघि कांग्रेस प्रदेश १ को सभापतिमा देउवा र कृष्ण सिटौला पक्षका उद्धव थापाले शेखर पक्षका गुरू घिमिरेलाई २ मतले हराएका थिए।

दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १५८० मत ल्याएका छन्।

प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए। कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याए।

खड्का सुर्खेतका हुन्। देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा उनी केन्द्रीय सदस्य थिए। तेह्रौं महाधिवेशनबाट उनी महामन्त्री भएका थिए। उनी २०४८, २०५१ र २०५६ मा सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए।

उनी सूचना तथा सञ्चार र गृहमन्त्री भइसकेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका ध्रुव शाहीसँग उनी पराजित भएका थिए।

गुरूङ कांग्रेस केन्द्रीय हुन्। २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका उनी २०५३ मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरूण दलका महामन्त्री भएका थिए।

तेहौं महाधिवेशनपछि उनी केन्द्रीय सदस्य थिए। २०७० सालमा उनी समानुपातिकतर्फ दोस्रो संविधानसभामा सभासद थिए।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । उपसभापति पदको मतपरिणाम घोषणापछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने बताइएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्ता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalnepali congressNewsPolitictechnology
Comments (0)
Add Comment