प्रतिष्ठानद्वारा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कार

१७ मंसिर, झापा । लाल भागिरथा बानियाँ प्रतिष्ठानले चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएबापत तीन प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ । यस वर्ष पुरस्कृत हुनेमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं न्यूरो सर्जन डा गोपाल सेडाईं, मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका व्यावसायिक कृषक प्रधान किसान र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्का हुनुहुन्छ ।

प्रतिष्ठानको आज बसेको प्रतिभा छनोट समितिको बैठकले उहाँहरुलाई पुरस्कारका लागि छनोट गरेको समितिका संयोजक हरिचरण बानियाँले बताउनुभयो ।

विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने उद्देश्यले दुई वर्षअघि स्थापित यस प्रतिष्ठानले रु १० लाखको अक्षयकोष सञ्चालन गरिरहेको छ । कोषको ब्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई पुरस्कार दिने संस्थाको कार्यक्रम छ । त्यसमध्ये रु ३१ हजार नगदसहितको उत्कृष्ट प्रतिभा पुरस्कार डा सेडाईंलाई प्रदान गरिने भएको हो ।

यसैगरी रु ३१ हजार नगदसहितको उत्कृष्ट कृषि पुरस्कार लोपोन्मुख किसान समुदायका उदाहरणीय व्यक्ति किसानलाई र रु ३१ हजार नगदसहितको उत्कृष्ट गृहिणी पुरस्कार खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार प्रदान गरिने डा सेडाईं झापाको मेचीनगर–११ निवासी प्रसिद्ध न्यूरोसर्जन चिकित्सक हुनुहुन्छ ।

उहाँले हेमोफिलिया भएका बिरामीको मस्तिष्कघातको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गर्नुभएको थियो । उहाँले भारतको नयाँ दिल्लीस्थित एम्सबाट एमएस एमसीएच डिग्री हासिल गर्नुभएको हो ।

उहाँ हाल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सहप्राध्यापक हुनुहुन्छ भने ग्रान्डी इन्टरनेसनल हस्पिटललगायत अस्पतालमा समेत उपचार सेवा प्रदान गर्नुहुन्छ । आइएस्सी अध्ययनका क्रममा उहाँले सिद्धार्थ बनस्थलीबाट नेपाल प्रथमको स्थान हासिल गर्नुभएको थियो । उहाँका ६० भन्दा बढी शोध अमेरिका, चीन, कोरिया, जापानलगायत मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।

उत्कृष्ट कृषि पुरस्कार प्रदान गरिने किसान नेपालकै लोपोन्मुख एवं झापामा मात्र पाइने किसान समुदायका अगुवा हुनुहुन्छ । नेपालमा आदिवासी वर्गमा पर्ने किसान समुदायको जनसङ्ख्या ५०० को हाराहारीमा रहेको मानिएको छ । उहाँ किसान समुदायमा छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ र परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर आर्थिक उन्नतिको खुड्किलो उक्लिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

उहाँकी जेठी छोरी रेणुका किसान आफ्नो समुदायमा एसएलसी उत्तीर्ण गर्ने प्रथम महिला हुनुहुन्छ । अधियाँ र ठेक्का जग्गा कमाउँदै व्यावसायिक एवं जैविक तरकारी खेतीबाट आर्थिक समृद्धि हासिल गर्नुभएको ५६ वर्षीय किसानको उदाहरणीय कर्मलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएको बानियाँले बताउनुभयो ।

यसैगरी मेचीनगर–७ मा ८६ वर्षीया सासु रत्नमाया र ९४ वर्षीय ससुरा मानबहादुर खड्काको स्याहार तथा पारिवारिक व्यवस्थापनमा असल बुहारीका रुपमा पु¥याएको योगदानको कदर गर्दै उहाँहरुकी ३७ वर्षीया बुहारी खड्कालाई पुरस्कृत गर्ने निर्णय भएको बानियाँले जानकारी दिनुभयो ।

बुहारी खड्काले बुढ्यौली र अनेक रोगले थलिएकी सासू र प्रोस्टेटको शल्यक्रियापश्चात् पिसाबको थैली शरीर बाहिर बोकेर हिँड्नुपर्ने अवस्थाका ससुराको नियमित स्वास्थ्य हेरचाह तथा पालनपोषणमा कुनै गुनासो आउन नदिई सेवा गरिरहनुभएको छ । यही मङ्सिर २० गते मेचीनगर–११ धाइजनमा प्रतिष्ठानको कार्यालयमा एक समारोहको आयोजना गरी प्रतिभालाई पुरस्कृत गरिने भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesbusinessDeathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment