बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइयो

१५ मंसिर, काठमाडौँ । यस वर्ष वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइएको छ । दसैँ पहिले नै सवारीसाधन चल्नसक्ने गरी मर्मत गरिएकामा अहिले आगामी वर्षमा सडक अवरुद्ध नहोस् भनी दीर्घकालीन रुपमा मर्मत भइरहेको छ ।

धेरै ठाउँमा सडक नै बगाएकाले तलबाट जाली बनाएर हालिएको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जनाएको छ । सडकमा यसअघि नै पुनःस्थापना गरिएको थियो । आगामी वर्षमा पनि वर्षाको पानीले नबगाउने गरी स्थायी मर्मत गरिने तयारी भइरहेको योजनाका प्रमुख अच्युतविलास पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा ढलान गर्ने, नाली बनाउने, पानी कटाउने कामका लागि छिट्टै ठेक्का प्रक्रियामा जानुपर्छ ।”

वर्षाले त्यहाँका केही सङ्ख्यामा काठ र एउटा पक्की पुल बगाएको छ । ती ठाउँमा अहिले काठका पुल राखेर यातायात सञ्चालन भइरहेको छ । पुल नहुँदा नै सडक अवरुद्ध भएकामा मर्मत गरेर सञ्चालन भएको प्रमुख पन्तले बताउनुभयो । सडक दीर्घकालका लागि लागत अनुमान गरेर विभागमा पठाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणकै लागि छिट्टै ठेक्कामा जाने योजना छ ।”

सडक बगाएको वा पुरिएका स्थानमा पनि आसिंक रुपमा खुलाइएको योजनाका प्रमुख पन्तले बताउनुभयो । झण्डै १० किमी सडक र अरु विभिन्न ठाउँमा सडक बगाएको थियो । सडक मर्मतका लागि ठूलो रकम आवश्यक भए पनि एकै पटक व्यवस्थापन हुन नसक्ने हुँदा प्राथमिकताका आधारमा मर्मत गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भएको बजेटबाट जोखिमयुक्त स्थानलाई प्राथमिकतामा पारेर मर्मत गरिनेछ ।” जेठको अन्तिम सातादेखि नै सुरु भएको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको थियो । दसैँ पहिले अस्थायी रुपमा सडक खुलाइएको भए पनि पुनःकात्तिकमा भएको वर्षाले सडक अवरुद्ध गरेको थियो । दसैँपछि थप क्षति पुगेको स्थानमा पनि मर्मत र सुधार गरिएको प्रमुख पन्तले बताउनुभयो ।

ट्याक मात्रै खोलिएको सडक भएकाले पनि सडकमा ठूलो क्षति भएको प्रमुख पन्तले जानकारी दिनुभयो । लामो समय पहिलेदेखि नै सो सडकको ट्र्याक सेनाले खुलाएको थियो । ट्याक खुलेपछि लामो समयसम्म सडक स्तरोन्नति हुन सकिरहेको छैन । डुम्रे–बँेसीशहर खण्ड एक लेनको कालेपत्र भएको हो भने बेँसीशहर–चामे सडकमा कालोपत्र भएको छैन । सडक विभागले डुम्रे–बँेसीशहर सडकलाई विस्तार गर्ने र बेँसीशहर–चामे सडकलाई स्तरोन्नतिको योजना बनाएको छ ।

बेँसीशहरबाट चामेसम्म ६५ किमी सडक कच्ची छ । बँेसीशहरबाट अगाडि सात किमी सडक मात्रै कालोपत्रका लागि ठेक्का भएको थियो । यो खण्ड बेँसीशहरबाट खुदिसम्म पर्छ । यो खण्डमा निर्माणको काम भइरहेको छ ।

बेँसीशहर–चामे कूल लम्बाइ ६५ किमीमध्ये अहिले २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । त्योमध्ये पनि सात किमीमा मात्रै निर्माण अघि बढाइएको छ । बाँकी सडक भने अध्ययनको क्रममा छ । सो सडकमा यस वर्ष असारभित्र अध्ययन सकाउने योजना बनाइएको छ । प्रमुख पन्तले भन्नुभयो, “यस वर्ष अध्ययन सकिएपछि अर्काे वर्षबाट बहुवर्षीय ठेक्का लगाएर निर्माण अघि बढाइनेछ ।”

बँेसीशहर–चामे सडकमा लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमीपर्छ । यो सडक नै मनाङ जिल्लालाई प्रदेश राजधानी र सङ्घीय राजधानीसँग जोड्ने सडकका रुपमा रहेको छ । मनाङमा ठाउँठाउँमा काठका पुल मात्रै भएकाले हलुका सवारीसाधन मात्रै चल्ने गरेको योजना प्रमुख पन्तले जानकारी दिनुभयो ।

हिमाल पारिको जिल्लाका रुपमा परिचित मनाङ सडक सञ्जालमा जोडिए पनि सधैँ सवारीसाधन भने चल्न सक्दैनन् । जाडो मौसममा हिउँका कारण र वर्षामा बाढी तथा पहिराका कारण सडक अवरुद्ध भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment