ऐतिहासिक एवं सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ता बढी

०५ मंसिर, काठमाडाैँ । राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढेको छ ।

यही मङ्सिर ३ गतेदेखि सुरु भएको नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगितामा राष्ट्रिय अभिलेखालयले पनि एउटा कक्ष लिएर ऐतिहासिक अभिलेखका सामग्री प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा १५औँ शताब्दीमा लेखिएको भागवतपुराण, नेपाल संवत् २९० मा लेखिएको शिवधर्म ग्रन्थको गाताचित्रलगायत सामग्री विशेष आकर्षणका रुपमा रहेका छन् ।

शिवधर्म ग्रन्थको गाताचित्र चोरी भई अमेरिका पुगेकामा सन् २०१३ मा नेपाललाई फिर्ता गरिएको थियो । नेपाल सम्वत् ७८७ मा मैथिली लिपिमा लेखिएको पौराणिक ग्रन्थमा रहेको गाताचित्र, नेपाल संवत् ८३८ को योग विषयको सिद्धसिद्धान्तपद्धति पुस्तकको गाताचित्रलगायत महत्वपूर्ण दस्तावेज प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा अभिलेखालयले प्रकाशन गरेका पुस्तक, वार्षिक मुखपत्र अभिलेखका विभिन्न अङ्क बिक्रीमा समेत राखिएको निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो । प्रदर्शनीमा ऐतिहासिक अभिलेख हेर्ने र पुस्तक किन्न अवलोकनकर्ताको रुचि बढेको पाइएको उहाँले सुनाउनुभयो । आजसम्म चल्ने व्यापार मेलामा तीन लाखभन्दा बढीले अवलोकन गरिसकेको महासङ्घले जनाएको छ । आज बेलुकीसम्म पाँच लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा नेपाली मौलिक हस्तकलाका सामग्री खरिदमा पनि अवलोकनकर्ताको रुचि बढेको पाइएको छ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेकाले पनि यस वर्ष मेलामा अवलोकनकर्ता बढी आएका छन् । मेलामा हस्तकलाका रु पाँच करोडभन्दा बढीको सामग्री बिक्री हुने महासङ्घको अनुमान छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment