राष्ट्रिय जनगणना आजदेखि : ४० हजार गणक परिचालित हुँदै लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना सेटलाइटबाट भए पनि गरिने

२५ कात्तिक, काठमाडौं । १२औँ राष्ट्रिय जनगणना आजबाट सुरु हुँदै छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र आजदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ । सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए ।

सो क्रममा देशभर ४० हजार गणक परिचालन हुनेछन् । आठ हजार ५०० सुपरिवेक्षक सहभागी हुनेछन् । विभागले ती सबैलाई तालिम दिने काम सम्पन्न गरिसकेको छ ।

पहिलोपटक सामुदायिक प्रश्नावली पनि समावेश गरिएको र यो कार्यले वडा तहको तथ्यांक पनि संकलन हुने उनले बताए ।

जनगणनाका ८० वटा प्रश्न छन् । स्थानीय तहबाट पनि तथ्यांकको धेरै माग भएकाले प्रश्न धेरै भएको उनले स्पष्ट पारे ।

महानिर्देशक श्रेष्ठका अनुसार एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । पहाडी र तराई क्षेत्रमा भने गणकले २०० परिवारसम्मको तथ्यांक संकलन गर्न सक्ने छन् ।

जनगणना कार्यमा एउटा परिवारको तथ्यांक संकलन गर्न करिब ३० मिनेट लाग्ने छ । ८० वटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने विभागका महानिर्देशक श्रेष्ठले बताए ।

लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना सेटलाइटबाट भए पनि गरिने

विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । सो क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिने विभागले जनाएको छ ।

सुरुमा कूटनीतिक माध्यमबाट त्यहाँ गएर नै जनगणना गर्न प्रयास गरिने र त्यो हुन नसके सेटलाइटका माध्यमबाट जनगणनामा सहभागी बनाइने विभागका महानिर्देशक श्रेष्ठले बताए ।

उनका अनुसार अहिले सो क्षेत्रमा जान भारतीय सेनाले दिएको छैन । त्यसैले त्यहाँ जान कूटनीतिक प्रयास भइरहेको उनले बताए । “सो क्षेत्रमा जान सकिएन भने पनि सेटलाइटका माध्यमबाट भए पनि सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौँ,” बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

उनका अनुसार सो क्षेत्रमा करिब ८०० परिवार रहेको प्रारम्भिक तथ्यांक छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdowntechnology
Comments (0)
Add Comment