‘विश्व सिनेमाकी खजाना’ तब्बू

२२ कात्तिक, बीबीसी । शेक्सपियरले आफ्नो चर्चित नाटक ‘एन्टोनी एन्ड क्लियोपेट्रा’ मा अभिनेत्री क्लियोपेट्राका लागि लेखेका छन्– “न उसलाई उमेरले ओइलाउन सक्छ, न त परम्पराको प्रतिबन्धले उसको गुणको चमकलाई धमिल पार्न सक्छ ।”

शेक्सपियरले लेखेका यी पंक्तिहरूको जिउँदो उदाहरण हिन्दी चलचित्रको संसारमा हेर्ने हो भने हाम्रो आँखा तब्बूमाथि गएर रोकिन्छ ।

चार दशकदेखिको आफ्नो चलचित्रको यात्रामा ग्लामर र गम्भीरता, लोकप्रियता र शास्त्रीयता, हास्य र करुणको नितान्त विपरीत छेउलाई छुने आफ्नो कलामाफर्त उनले समय र कानुनसँग सम्बन्धित हरेक मान्यतालाई तोडेर आफ्नो बारेमा लेखेकी छन् ।

संयोगले बनिन् अभिनेत्री

तबस्सूम हाशमी उर्फ तब्बूको जन्म र हुर्काइ हैदराबादको एउटा शिक्षित परिवारमा भएको थियो । तर, उनकी आफन्त शबाना आजमी हिन्दी सिनेमामा स्थापित भइसकेकी थिइन र ठुली दिदी फराह हाशमीको रुचि पनि चलचित्रमा थियो ।

यद्यपि तब्बूको भने चलचित्र क्षेत्रमा प्रवेश गर्ने कुनै सोच र रुची थिएन । तर, सन् १९८२ मा रिलिज भएको ‘बाजार’मा निभाएको सानो भूमिका र सन् १९८४ मा आएको देवानन्दको ‘हम नौजवान’का कारण उनको पाइलाचलचित्र तर्फ बढ्यो ।

एक भारतीय टेलिभिजनलाई दिएको अन्तवार्तामा तब्बूले भनेकी छिन्, “म कहिले पनि अभिनेत्री बन्न चाहन्नथेँ । यो संयोगले भएको हो । त्यसैले मेरो कोही रोल मोडल भएन र रिफरेन्स प्वाइन्ट पनि भएन ।”

सफलतातर्फ लम्केका पाइला

तब्बूलाई मुख्य भूमिकामा पहिलोपटक बोनी कपूरले चलचित्र प्रेम (१९९५)का लागि साइन गरेका थिए । यद्यपि पर्दामा भने तेलुगू चलचित्र ‘कुली नं १’ बाट उनी मुख्य भूमिकामा देखिएकी हुन् ।

यता पहिलो सफलता भने उनले विजयपथ (१९९४) बाट मात्रै पाएकी हुन् । अजय देवगनसँगको यो चलचित्रमा देखिएकी तब्बूले सोही चलचित्रबाट फिल्मफेयर अवार्डमा ‘उत्कृष्ट डेब्यू अभिनेत्री’ को अवार्ड पाएकी थिइन् । यसका साथै ‘माचिस’की वीराको भूमिकाले उनलाई ‘सर्वश्रेष्ठ अभिनेत्री’ को राष्ट्रिय पुरस्कार दिएको हो ।

यसपछि आएका हकिकत, साजन चले ससुराल, जीत, बोर्डर, चाची ४२०, बीवी नं १, हम साथ–साथ हैं, सरीखी सफल चलचित्रहरूले उनलाई हिन्दी चलचित्रमा स्थापित गर्न मद्दत गर्‍यो ।

यो सत्याता हो कि शताब्दी ढल्मलाइरहेका वर्षमा तब्बू एक सफल अभिनेत्रीको रूपमा चिनिन थिइन । पञ्जावमा उग्रवादको समस्यामा आधारित गुलजारको चलचित्र माचिस (१९९६) र कमल हसनद्वारा लिखित अनि प्रियदर्शनद्वारा निर्देशित मलयालम चलचित्र ‘कालापनी’ ले तब्बूको प्रतिभालाई दुनियासमक्ष चिनाएको हो ।

अलराउन्डर तब्बू

तब्बू एक उत्कृष्ट अभिनेत्री हुन् भन्नेमा सायदै कसैलाई शंका होला । तर, भाषागत, विषयगत र चरित्रगत विविधताले भरिएको तब्बूको चलचित्रको दुनियाले उनलाई भारतीय चलचित्र नगरीमा पृथक बनाइदिन्छ ।

उनले तेलुगू, तमिल, मराठी जस्ता भारतीय भाषाका चलचित्रका साथै ‘नेमसेक, लाइफ अफ पाई’जस्ता अन्तर्राष्ट्रिय चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

तब्बूको पृथकता उनले गर्ने हरेक विधाका चलचित्र र पात्रहरूबाट पनि स्पष्ट हुन्छ । एकतर्फ तब्बू, शेक्सपियर (मकबूल और हैदर), चाल्र्स डिकेन्स (फितूर), जेन आस्टिन (कन्डूकोन्डेन कन्डूकोन्डेन) जस्ता कालजयी रचनाहरूमा आधारित चलचित्रमा अभिनय गरेकी छिन् भने अर्कोतर्फ हेरा–फेरि, र गोलमाल अगेन जस्ता हल्का–फुल्का चलचित्रहरूमा पनि अभिनय गरेकी छिन् ।

फरकफरक पात्रको कुरा गर्ने हो भने उनी ‘अस्तित्व’ की द्वन्द्वग्रस्त गृहिणी (अदिती पण्डित) देखि ‘चीनी कम’ की आत्मविश्वसी (नीना वर्मा), ‘मकबूल’ की षड्यन्त्रकारी (निम्मी), ‘दृश्यम’ की सशक्त प्रहरी अफिसर (मीरा देशमुख) जस्ता हरेक रंगका पात्रहरूमा चमक ल्याउन सक्छिन् ।

उनले अभिनय गरेका हरेक चलचित्रमा उनको अभिनयलाई नजिकबाट नियाल्ने हो भने त्यसमा विषय–वस्तुलाई आत्मसात गरेर आफ्नो सह–अभिनेतासँग अन्तरक्रिया गर्दै जीवित तनाव पैदा गर्ने अदभूत क्षमता देख्न सकिन्छ । उनको यो खुबीले हरेक दृश्यलाई भाव र अर्थको स्तरमा चलचित्रलाई नयाँ आयाम दिएको देख्न सकिन्छ ।

त्यसैले त ‘लाइफ अफ पाई’मा उनलाई निर्देशित गर्ने विश्वकै शीर्ष चलचित्र निर्देशक आङ लीले तब्बूलाई ‘विश्व सिनेमाकी खजाना’ मान्दछन् ।

तब्बू को विरासत

नोभेम्बर ४ मा उमेरले ५१ वर्ष टेकेकी तब्बू दुई राष्ट्रिय पुरस्कार, आधा दर्जन फिल्मफेयर पुरस्कार र पद्म श्री पुरस्कारबाट पुरस्कृत भइसकेकी छन् । चार दशक पारिगरिसकेको उनको चलचित्रको यात्रा आज पनि स्वाभाविक गतिले अघि बढिरहेको छ ।

अभिनय पाटोमा जति माथि छिन् उनी व्यवहारिक जीवनमा पनि उतिनै सहज र शालीन छिन् । उनको प्रदर्शनमा, ली स्ट्रासबर्गको प्रसिद्ध अभिनय सिद्धान्तहरू, जसमा सटिक अभिनयका लागि अनिवार्य रूपमा ‘इम्प्रोभाइजेसन’ र ‘प्रभावकारी मेमोरी’ आवश्यक मानिएका छन्, त्यो बारम्बार प्रमाणित भएको देख्न सकिन्छ । त्यसैले शेक्सपियर र डिकेन्सका किताबहरूविना पढेर नै ती कृतिहरूमा आधारित चलचित्रका कालजयी पात्रहरूलाई जीवन्त बनाउन सक्षम छिन् ।

रूप र भावनाको स्तरमा विषय, वातावरण र भाषाको सुक्ष्मता बुझेर पर्दामा पात्रहरू चित्रण गर्नसक्ने क्षमता भएकी हलिउड चलचित्रकी कुशल र चर्चित अभिेत्री मेरल स्ट्रिपका खुसीहरू कहिँकतै तब्बूमा पनि देखिने विश्वास गरिन्छ । त्यसैले त ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिबल’ को मञ्चमा उनलाई ‘भारतीय सिनेमाकी मेरल स्ट्रिप’ भनेर सम्बोधन गरियो ।

जसको जवाफमा तब्बूले भनिन्, “अभिनय मेरा लागि अनुभव जस्तै हो…..अनायास नै हुन्छ ।”



मल्टिमिडिया ग्यालरी

ActressBollywoodBollywood ActressCoronavirusCovid-19digital khabarLockdownnepalNewsPoliticTabutechnology
Comments (0)
Add Comment