झिनीया र सेलरोटीको व्यापारबाट राम्रो आम्दानी

१९ कात्तिक, गलेश्वर । तिहार सुरु भएसँगै म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेलरोटीको व्यापार फस्टाउँदै गएको छ । यमपञ्चकको चौथो दिन आजसम्म लाखौँको झिनीया र सेलरोटीको व्यापार भएको व्यवसायीले बताएका छन् । बेनीका झिनीया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले रु दुईदेखि तीन लाखको झिनिया तथा सेलरोटी बिक्री गरेका छन् । सदरमुकाम बेनीमा मात्रै झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ ।

बेनीकी उद्यमी राधा बोगटीले तिहारको अवधिमा सेलरोटी र झिनियाको माग अत्यधिक भएको बताउनुभयो । “दैनिक ७०० वटासम्म झिनीया र सेलरोटी बिक्री हुन्छ”, उहाँले भन्नुभयो । व्यवसायीका अनुसार घरमा बनाउन झञ्जट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनीयाको व्यापार फस्टाउँदै गएको हो । सेलरोटी र झिनीयाको साथै चिनी, फिनी, झेली, फूल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ ।

सेलरोटी प्रतिगोटा ३०, चिनी र फिनी रोटी प्रतिगोटा रु ५० का दरले बिक्री हुने गरेको छ । झिनीया आकारअनुसार प्रतिगोटा रु १० देखि १५ मा बिक्री हुन्छ । बेनीका उद्यमीले उत्पादन गरेको झिनीयाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात गरिएको अर्की उद्यमी सिर्जना श्रेष्ठले बताउनुभयो ।

“सीप भएका महिलालाई फुर्सदको समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको छ”, उहाँले भन्नुभयो । हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ । बनाउन झन्झटिलो भए पनि झिनीयाको व्यापार गर्नेहरुको कमाइ भने राम्रो छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DashainDeubadigital khabarFestivalJhiniyaLockdownnepalNewsPMPoliticsRotitechnologyTihar
Comments (0)
Add Comment