प्रविधिले बिर्सायो तिहारको मौलिकता

१९ कात्तिक, गलेश्वर । प्रकृतिसँंग मानिस रम्ने चाड हो तिहार । शारद याममा वातावरण नै उल्लासमय बनिरहेको छ । घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ । विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीेले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।

युवापुस्तामा आयातित संस्कृतिको प्रभावमा पर्दै गएकाले सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्हरु बताउँछन् । नेपालीका लागि दसैँपछिको दोस्रो ठूलो चाड तिहारमा पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दसैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन् ।

पं नीलकण्ठ आचार्यका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको छ । आधुनिकतासँगै तिहारमा पनि अनेक खालका विकृति देखिन थालेको उहाँको भनाइ थियो ।

माटाको दियो र भोगटेको पातमा बत्ती बालेर जिम फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर अहिले भने जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । म्याग्दीको ज्यामरुककोटका ८५ वर्षीय रणबहादुर घिमिरे भन्नुहुन्छ, “यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता रहादैन ।”

माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलिमिली बत्तीमा मनाइने तिहारको मौलिकता अब कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाहरू बताउँछन् । अचेल माटोको पाला पूजाकोठामा मात्र सीमित भएको छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ । यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रूपमा घरको मूलढोकामा हालिने तेलको धाराले प्रतीकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धारो हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको बृद्ध घिमिरेले बताउनुभयो । “ओखर फोरिन्थ्यो, तेलको धारा हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, उहाँले भन्नुभयो– “अब ती सबै कुरा हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।”



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DashainDeubadigital khabarFestivalhealthLockdownnepalNewsPMPoliticPoliticstechnologyTihar
Comments (0)
Add Comment