इजरेल जाने नेपालीले कति खर्च गर्नुपर्छ र मासिक कति कमाइ हुनेछ

२७ असाेज, बीबीसी । वैदेशिक रोजगार विभागले इजरेली स्याहार केन्द्रमा सहायक कामदारका रूपमा छनौट भएका नेपालीहरूको सूची सार्वजनिक गरेको छ।

नेपाली कामदारका लागि इजरेल निकै आकर्षक गन्तव्यको रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन्।

विभागले सोमवार सार्वजनिक गरेको सूचना अनुसार १,१७५ नेपाली कामदार छनौट सूचीमा परेका छन्।

छनौट गरिएका कुल नेपालीमध्ये झन्डै ७० प्रतिशत अर्थात्‌ ८२१ महिला छन् भने ३५४ जना पुरुष छन्।

इजरेलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय (पीआईबीए) ले ती उम्मेदवारको छनौट गरेको विभागले जनाएको छ।

इजरेलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोट गर्न विभागले असोज १६ गते १,६०० जना नेपालीको सूची पीआईबीएलाई पठाएको थियो।

तीमध्ये १,१७५ जनालाई चिट्ठा प्रणालीबाट पीआईबीएले छनौट गरेको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

अबको प्रक्रिया के हुन्छ?

पीआईबीएले छनौट गरिएका कामदारहरूको रोजगार सम्झौता हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागमा उपलब्ध हुनेछ।

कामदारले रोजगार सम्झौतामा हस्ताक्षर गरेको पाँच दिनभित्र भिसा जारी गर्नका लागि विभागले सिफारिशसहित सहजीकरण गर्नेछ।

रोजगार सम्झौता भई भिसा प्राप्त गरेका कामदारलाई विभागले श्रम स्वीकृति प्रदान गर्नेछ।

के छन् पूर्वशर्त?

वैदेशिक रोजगार विभागले गत साउनमा आह्वान गरेको आवेदनमा उल्लेख गरिएअनुसार इजरेल जाने कामदारहरूले केही पूर्वशर्त पालना गर्नुपर्ने हुन्छ; जसअनुसारः

  • छनौट भएका कामदारहरूले इजरेल जानुभन्दा ७२ घण्टाअगाडि आफ्नै खर्चमा कोभिड १९ को परीक्षण गराई नेगेटिभ रिपोर्ट लगायतका विवरण पेश गर्नुपर्ने
  • इजरेल प्रवेशपश्चात् त्यहाँको स्वास्थ्य मन्त्रालयले तोकेअनुसार खोप लगाउनुपर्ने
  • नेपाल प्रहरीबाट जारी असल चरित्रको प्रमाणपत्र पेश गर्नुपर्ने
  • स्वास्थ्य परीक्षण प्रमाणपत्र पेश गर्नुपर्ने
  • करार सम्झौता अवधि समाप्त भएपछि अनिवार्य रूपमा इजरेल छोड्नुपर्ने
  • करार सम्झौतामा उल्लेख भएको कामबाहेक अन्य क्षेत्रमा काम गर्न नपाइने
  • इजरेल प्रस्थान गर्नुअघि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानबाट तालिम लिनुपर्ने।

सेवा, सुविधासम्बन्धी के कस्ता शर्त छन्?

इजरेल जाने नेपाली कामदारले त्यहाँका हेरचाह केन्द्रमा रहेका वृद्धवृद्धा, अशक्त बिरामीलाई स्वास्थ्य, सरसफाइ, पोषण, हिँड्डुललगायत सुपरभाइजरबाट प्राप्त निर्देशन तथा रोजगार सम्झौताअनुसार सहयोग पुर्‍याउनुपर्ने हुन्छ।

प्रत्येक २४ घण्टामा दुईदेखि तीनवटा शिफ्ट हुने आवेदनमा उल्लेख छ।

मासिक पारिश्रमिकको १२.५ प्रतिशतले हुने रकम रोजगारदाताले कामदारको नाममा खोलिएको ब्याङ्क खातामा जम्मा गर्नेछ।

इजरेली श्रम कानूनअनुसार कामदारको मासिक पारिश्रमिकबाट रोजगारदाताबाट उपलब्ध गराइने स्वास्थ्य बिमाको प्रिमियम रकम, आवास तथा खाना खर्च, सम्पत्ति कर, पानी एवम् बिजुली महसुल र आयकर शीर्षकमा कट्टा गरिनेछ।

इजरेल जाने कामदारले हवाई भाडा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिमसहित विभिन्न शीर्षकमा हुने एक लाख ६५ हजारभन्दा केही बढी रकम आफैँले बेहोर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागद्वारा प्रकाशित सूचनाअनुसार प्रत्येक कामदारको मासिक तलब लगभग १,६०० अमेरिकी डलर हुनेछ।

कामदारले सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ भने त्यहाँको सरकारी नियम अनुसार ओभर टाइमको सुविधा हुनेछ।

खानामा हुने खर्च तलबबाट कटाइनेछ भने रोजगार दाताले सुरक्षित र स्वच्छ आवासको व्यवस्था गर्नेछ।

विभागका अनुसार शुरूमा करार अवधि एक वर्ष हुनेछ र करार अवधि थप गरिएमा अधिकतम अवधि पाँच वर्षसम्म हुनेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthIsraelnepalNewsPolitictechnology
Comments (0)
Add Comment