भारतबाट पक्राउ परे नक्कली अन्त:शुल्क स्टीकर कारोबारी, क्रिष्टल र माउण्ट एभरेष्टको फाइल खुल्ने

२७ असोज, काठमाडौं । अन्त:शुल्कको नक्कली स्टीकरको प्रमुख कारोबारी बाबुराजा कशोधन पक्राउ परेका छन्। प्रहरीले भारतबाट केही दिन अघि कशोधनलाई पक्राउ गरेको हो।

बुटवल बसेर विभिन्न मदिरा उद्योगलाई लेवल बनाएर दिने गरेका उनले नक्कली स्टीकर समेत बेचेको अनुसन्धानबाट खुलेपछि उनी फरार थिए। राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट कशोधन गिरोहको नाइके भएको खुलेको थियो।

‘केही दिन अघि नक्कली स्टीकरका प्रमुख कारोबार पक्राउ परेका छन्’, राजस्व अनुसन्धान विभागका एक अधिकारीले भने,’अब नक्कली स्टीकरको अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ।’ नक्कली स्टीकर बरामद भएको केही समयपछि कशोधन फरार भएका थिए। सुरुमा प्रहरीले नक्कली स्टीकरसहित दुई जना पक्राउ परेपछि मुख्य कारोबारीले मुद्दा मिलाउन चलखेल सुरु गरेका थिए। उनीहरुले जिल्ला अदालतदेखि राजस्व अनुसन्धान विभागसहित राजनीतिक दलको समेत संरक्षण लिन खोजेका थिए।

विभागले थप अनुसन्धानका लागि म्याद थपको माग गर्दा प्रहरीले अनुसन्धान गर्ने विषय भएको अदालतले दाबी गरेको थियो। तर विभागले यो विशुद्ध राजस्व छलीको विषय भएको आधार प्रस्तुत गरेपछि मात्रै म्याद थपको लागि स्वीकृति दिएको थियो।

कशोधनसँग नेपाल र भारत दुवैतर्फको नागरिकता छ। उनको कम्पनीको बैंक खातादेखि सबै कारोबार रोक्का विभागले राखेको छ। कशोधनबाट लेबलिङ किन्ने अधिकांश डिष्टीलरीले नक्कली स्टीकरमा संलग्न पाइएको थियो। विभागले क्रिष्टल डिष्टीलरी र माउण्ट एभरेष्ट डिष्टीलरीमा प्रयोग भएको स्टीकर र नक्कली स्टीकरको सिरियल नम्बर मिलेपछि दुवै उद्योग बन्द गरेर खातापाता जफत गरेको थियो। तर दुई साता अघि ती दुई उद्योगलाई संचालन अनुमति दिइसकिएको छ।

भैरहवा भन्सार कार्यालयबाट ल्याइएको स्टीकरको रोल सशस्त्र प्रहरीले बरामद गरेपछि अन्त:शुल्क छल्न नक्कली स्टीकर प्रयोग हुने गरेको खुलेको थियो। २ करोड ३५ लाख ६३ हजार मूल्य बराबरको नक्कली अन्त:शुल्क स्टीकरसहित दुई जना सशस्त्र पक्राउ गरेको थियो।

पक्राउ परेको स्टीकर छपाइका लागि कम्तीमा पनि ४० देखि ५० करोडको मेसिन आवश्यक पर्ने देखिन्छ। यो खाले मेसिन नक्कली स्टीकर छाप्नैका लागि प्रयोग नगरिने अनुमान छ। भारतीय बजारको ठूलै लगानीको प्रेसबाट स्टीकर छापिएको विभागको अनुमान छ।

अनुसन्धान थप प्रभावकारी हुने

कशोधन पक्राउपछि विभागले नक्कली स्टीकर अनुसन्धानलाई प्रभावकारी बनाउने भएको छ। विभागका एक अधिकारीका अनुसार कशोधनको बयान अनुसार कुन कुन उद्योग संलग्न छन् भन्ने पत्ता लाग्नेछ।

‘हाम्रो अनुसन्धानबाट दुई मदिरा उद्योगले उत्पादन गर्ने मदिरा र नक्कली स्टीकरको सिरियल नम्बर मिलेर कारवाही अगाडि बढेको थियो। ती मदिरा उद्योगसहित अरुको पनि छानविन अगाडि बढ्नेछ। हामी नक्कली स्टीकरमा संलग्नलाई कडा कारवाही हुन्छ।’ उनका अनुसार नक्कली स्टीकर नोट छापे भन्दा पनि गम्भीर अपराध भएकाले कारवाहीबाट विभाग पछि हट्दैन्।

‘यो आर्थिक अपराधलाई संरक्षण गर्दा अराजकता आउँछ। यसले राजस्वमा पर्ने प्रभाव ठूलो छ,’ ती अधिकारीले भने, ‘त्यसैले आर्थिक प्रभावमा अनुसन्धान रोकिन्छ भनेर नसोचे हुन्छ।’ उनका अनुसार क्रिष्टल र माउण्ट एभरेष्ट डिष्टीलरीको समेत फाइल खुल्नेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AntasulkabusinessCoronavirusdigital khabarDublicatehealthLockdownnepalNewspolicePoliticStikar
Comments (0)
Add Comment