एनआरएनए चुनावः बद्री केसी टिमद्वारा उम्मेदवारी घोषणा

१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । केसीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार, कूटनीतिक नियोग लगायतसँग सहकार्य गर्ने बताएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीहरुको न्यूनतम तलव अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (युके), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया) लाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

विवादित कार्यकाल र घोटालामा मुछिएका केसी

कोरोना महामारीको बेला समस्यामा परेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको सहयोगार्थ एनआरएनएलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले करिव दश करोड रुपैयाँ उपलब्ध गराएको थियो ।
उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेर समस्यामा परेका नेपाली कामदारको सहयोगका लागि समिति गठन गरेको थियो । तर, युएई लगायतका मुलुकमा व्यापक भ्रष्टाचार गरिएको र ती भ्रष्टाचारमा केसीले संरक्षण दिएको आरोप लागेको छ ।

युएईको भ्रष्टाचार छानवीन गर्न गठित समितिले अनुसन्धान प्रक्रिया र निष्कर्षसहित १६ पृष्ठको लिखित प्रतिवेदन बुझाएको थियो । त्यसपछि एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गरेको थियो ।

कोइराला र शेर्पाले परियोजनामार्फत् प्राप्त रकम काठमाडौंस्थित एक बैंकमा खाता खोली जम्मा गरेका थिए । छानवीन समितिले प्रतिवेदनमा के उल्लेख छ भन्ने नखुलाए पनि प्रतिवेदन कोषाध्यक्षलाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।

राजु केसी संयोजकत्वमा गठित छानवीन समितिमा भुवानीप्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरी, लक्ष्मण खनाल र महेश मोक्तान सदस्य रहेका थिए ।

तर, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरी जोशीसहित केन्द्रीय समितिले नै भ्रष्टाचार प्रकरणमा जिम्मेवारहरूलाई नै जोगाउन खोजेको एनआरएनए अभियन्ताहरूले बताएका छन् ।

त्यसैगरी, उपाध्यक्ष केसीले एनआरएनएको केन्द्रीय कार्यालयमार्फत् गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा धाँधली गरेको छानवीन प्रतिवेदनमा उल्लेख छ । एमआइएस सिस्टमको दुरुपयोग गरी आफूनिकट उम्मेदवार जिताएका केसी र महासचिव शर्माविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको फर्पिङमा जन्मिएका केसीले सन् २००१ मा मस्को विश्वविद्यालयबाट टेक्नोलोजीमा पिएचडी गरेका छन् । उनले रसिया र नेपालका विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment