गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षद्वारा पद बहाली, स्मार्ट गोरखापत्र बनाउने प्रतिबद्धता

१४ आश्विन, काठमाडौं । गोरखापत्र संस्थानका नवनियुक्त कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले बुधबार पदबहाली गर्नुभएको छ । पदबहाली गर्दै उहाँले गोरखापत्रकर्मीको रुपमा संस्थान प्रवेश गरेको बताउनुभयो ।

नेपाली पत्रकारिताको विद्यार्थी रहेको र व्यवसायिक हिसावले गोरखापत्र परिवारसँग जोडिन पाउँदा गर्व र खुशी महसुस भएको बताउनुभयो । सुवेदीले गोरखापत्र एउटा पत्रिका मात्र नभएर पत्रकारिता जगतको गौरव र राष्ट्रको पत्रिका रहेको बताउनुभयो ।

यो कुनै दल वा सरकारको पत्रिका नभएर यो सिङ्गो राष्टको पत्रिका हो, उहाँले भन्नुभयाे, गोरखापत्र पत्रकारिता क्षेत्रको सभ्यता र संस्कृतिसँग जोडिएको छ ।

गोरखापत्रलाई हामी सबै मिलेर स्मार्ट गोरखापत्र बनाउने सपना बोक्नुपर्छ, सुवेदीले थप्नुभयो, अहिलेको प्रविधि, गति र समयको माग अनुसार गोरखापत्र, दि राइजिङ नेपाल, मुना, मधुपर्क, युवामञ्च अगाडि लग्नुपर्ने हामी सबैको कर्तब्य हो । प्रविधिसँगै जान सकेनाैं भने पछि पर्ने स्वाभाविक हो, त्यसैले यो दौडमा हामी पनि दौडिनुपर्छ ।

उहाँको अनुसार गोरखापत्रमा प्रद्धति र प्रविधिमा (हार्डवेयर) ब्यापक सुधार गर्नुपर्छ । यो सुधार गर्न एक्लैको प्रयास वा सोचले सम्भव हुँदैन । त्यसैले अग्रज गोरखापत्रकर्मीहरुको सहयोग र साथको आवश्यक पर्छ ।’ त्यसैगरी उत्पादन (सफ्टवेयर) पनि विकास गर्न जरुरी छ, अहिलेको समयसापेक्ष पत्रिका हुन जरुरी छ ।

गोरखापत्र संस्थानमा प्रशासनमा आए पनि मेरो रुचि भनेको सम्पादकीय पनि हो भन्दै हामी सबै मिलेर एउटा गौरवशाली संस्थाको र विश्वसनीय र व्यवसायिक पत्रिकामा रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ । हाम्रो भविष्य सुरक्षित र सुन्दर बनाउन हामीले गोरखापत्रलाई राम्रो बनाउनुपर्छ ।

कर्मचारीको वृत्ति विकास गर्ने कामलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्दे उहाँले जीर्ण भवनलाई अत्याधुनिक बनाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा राम्रो फलोअर्स नभएको दुःख ब्यक्त गर्दे यसलाई राम्रो गर्नुपर्ने सुझाव दिनुभयो ।

यसैगरी, नवनियुक्त कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई स्वागत गर्नहुँदै गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका शिवकुमार भट्टराईले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

व्यवसायिक पत्रकारितामा दुई दशकभन्दा बढी क्रियाशील रहनुभएका सुवेदीले यसअघि अन्नपूर्ण पोष्टको अनलाइन संस्करण, नेपालसमय डटकमलगायतका सञ्चारमाध्यममा सम्पादक तथा अन्य नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्नुभएको छ ।

वि.सं. २०५२ मा ‘हिमालय टाइम्स’ दैनिकबाट पत्रकारिताको व्यवसायिक यात्रा थाल्नुभएका उहाँले संसद्, सुरक्षा, भ्रष्टाचारविरोधी तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।

आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल (दर्शनाचार्य) तहको अध्ययन गर्नुभएका उहाँ मिडिया अध्यापन, शोध अध्ययनमा क्रियाशील हुनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment