आठ लाख १९ हजार जनाले पाउने मध्य भोटेकोशीको आईपीओ असोज २० गतेदेखि बिक्री खुल्दै

१३ असाेज, काठमाडाैँ । के तपाई आईपीओ भर्दा भर्दा नपरेर हैरान हुनुभएको छ ? आईपीओ भरेपनि नपरेर हैरान भैरहेका लगानीकर्ताहरु माझ मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले ८ लाख १९ हजारलाई जनालाई बाँड्न पुग्ने प्राथमिक शेयर (आईपीओ) जारी गर्दैछ ।

यसअघि पहिलो चरणमा आयोजना प्रभावितका लागि शेयर निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले दोस्रो चरणमा असोज २० गतेदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल निष्काशित ९० लाख कित्ता आईपीओमध्ये ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख ५० हजार कित्तासामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ८१ लाख ९० हजार कित्ताका लागि आवेदन गर्न पाउनेछन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ८ लाख १९ हजारले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।

पछिल्लो समय न्यून संख्यामा जारी हुने आईपीओले धेरैको हात खाली भैरहेको अवस्थामा मध्य भोटेकोशी जलविद्युतको शेयर भने कुल आवेदकको एक तिहाइले पाउनेछन् । यसले आईपीओ आवेदनकलाई केही राहत दिने विश्वास गरिएको छ ।

लगानीकर्ताहरुले यस सर्वाजनिक निष्काशन आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयरको मोबाइल एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आईपीओ भर्न सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।

मध्य भोटेकोशीको आईपीओ निष्कासनकर्तामा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookiponepalNewsPoliticshare market
Comments (0)
Add Comment