भोजपुरमा करदाता वृद्धि

२५ भदाै, भोजपुर । करको दायरामा आउने करदाताका सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष जिल्लामा कार्यालय स्थापना भएपछि करका दायरामा आउनेका सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा रु १४ करोड १३ लाख ६६ हजार राजस्व सङ्कलन भइसकेको र कर तिर्न आउनेको सङ्ख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत रुपक न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘कार्यालय स्थापना भएर यहीँबाट सेवा सञ्चालनमा आएपछि करको दायरामा आउने मानिसको सङ्ख्या उल्लेख्य रहेको छ । यो आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र रु तीन करोड राजस्व सङ्कलन भएको छ ।’’

कार्यालय स्थापना हँुदाका अवस्थामा तीन हजार ८९३ करदाता रहेकामा एक वर्षका अवधिमा दुई हजार ३२१ नयाँ करदाता थपिएर अहिले छ हजार २१४ पुगेको उहाँले बताउनुभयो ।

करदाताको सङ्ख्या झण्डै ५० प्रतिशतले बढेको छ । यो यही कार्यालय स्थापना भएको सकारात्मक प्रभाव पनि हो । हुन त अन्य ठाउँको तुलनामा खासै ठूलो रकम त होइन यद्यपि यहाँको बजारको अवस्था, भूगोल, जनसङ्ख्या, उद्योग व्यवसायलाई हेर्दा यो धेरै ठूलो उपलब्धि हो ।’’कर अधिकृत न्यौपानेले भन्नुभयो हामीले करसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ । सेवाग्राहीको कामलाई छिटोछरितो बनाउँदै काममा प्रभावकारिता कायम गरिरहेका छौँ । जसको कारण पनि करदाताको सङ्ख्या दैनिक रुपमा थपिँदै गएको अवस्था छ । कार्यालय स्थापनाको एक वर्ष पनि पुगेको छैन, त्यसैले केही वर्षपछि यसमा अझ विकास हुने अवस्था छ ।’’

हालसम्म आयकर रु नौ करोड ६८ लाख ३२ हजार, घर बहाल कर रु एक करोड २४ लाख ७२ हजार, ब्याज कर रु आठ लाख २५ हजार, मूल्य अभिवृद्धि कर रु छ करोड २२ हजार र अन्त शुल्क रु १८ लाख ५४ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

जिल्लामा कार्यालय स्थापना भएपछि जिल्ला सेवाग्राहीलाई सेवा लिन सहज भएसँगै करको दायरामा आउनेको सङ्ख्या दिनानुदिन बढी रहेको कार्यालयको भनाइ छ । विगतका दिनमा कार्यालय नहुँदा कर तिर्नको लागि तीन दिन लगाएर धरान धनकुटा पुग्नुपर्ने बाध्यता थियो ।

गतवर्षको असोज महिनामा यहाँ नै कार्यालय स्थापना भएपछि स्थानीयवासीको त्यो अवस्था अन्त्य भएको छ । स्थानीय आङलाक्पा लामाले भन्नुभयो,‘‘ ढिलै भए पनि जिल्लामा कार्यालय स्थापना भएको छ । विगतका दिनमा चार दिनसम्म लगाएर कर तिर्न गएको तितो अनुभव छ । तर अहिले आफ्नै जिल्लामा कर तिर्न पाउँदा निकै खुशी लागेको छ । यसले हामी जस्ता सर्वसाधरणलाई निकै ठूलो सेवा पुगेको छ ।’’

कार्यालय आसपासमा बैंकका शाखा नभएकाले बै‍कमार्फत राजस्व भुक्तानी गर्न केही झन्झट भएकोले नजिकै बैंकको शाखा स्थापान गर्नु पर्ने उनीहरुको माग छ । कार्यालय स्थापना भए पनि कर तिर्नमा स्थानीयवासी जागरुक भएको कार्यालयको भनाइ छ । साना करदाताले असोज समान्तसम्म कर बुझाउन सक्ने कार्यालयले जनाएको छ । साना व्यवसायीलाई कर तिर्न, स्थायी लेखा नम्बर लिनेलगायतका काम गर्न सहज भएको छ ।

करदाता सेवा कार्यालयमा अनलाइन सेवासमेत सञ्चालन भएकोले २० लाखसम्मको कारोवार गर्ने निजी फर्म तथा उद्यमीले घरबाटै कर तिर्न सक्नेसमेत कार्यालयले जनाएको छ ।

पहिलो पटक रक्तसञ्चार केन्द्र स्थापना

यहाँ पहिलो पटक रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो । सङ्घीय सांसद सुदन किरातीले उपलब्ध गराउनुभएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसद विकास कोषको रु. ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको जनाइएको छ ।

सांसद किरातीले सो रकम उपलब्ध गराएपछि भोजपुर नगरपालिकाले उपकरण खरिद गरेका केन्द्रमा आवश्यक कर्मचारी पनि नगरपालिकाले व्यवस्था गरेको रेडक्रसका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘धेरै समयमा अथक प्रयासपछि जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सफल भएका छौँ । यसले यहाँका स्थानीयवासीलाई स्वास्थ्यसेवा लिनको लागि निकै सहज भएको छ । यहाँ आवश्यकपर्ने कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।’’

विगतका वर्षमा रक्तसञ्चार केन्द्र नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा बिरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो । सुत्केरी, दुर्घटना तथा आकस्मिक रुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यान समेत गुमाउनपर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

स्थानीय रङगमान राईले भन्नुभयो जिल्लामा ब्लड बै‌क नहुँदा अत्यन्तै समस्या थियो । सेना र प्रहरीका भरमा अस्पतालले रगतको व्यवस्था गर्नुपर्ने अवस्था थियो । अकस्मिक रुपमा रगत नपाउदा कतिपयले अकालमा ज्यान पनि गुमाएको अवस्था छ । कतिपयलाई यहाँ रगत नपाएर बाहिर पठाउदा बाटोमा ज्यान गएको अवस्था पनि छ । यो स्थापना हामी जिल्लावासीको लागि खुसीको कुरा हो । तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ ।’’

अस्पताललाई चाहिने रगत यहाँ खपत गर्ने र बढी भएको रगत जिल्ला बाहिरका अस्पतालमा पठाउने गरी तयारी थालिएको रेडक्रसले जनाएको छ । अहिले रक्तदान कार्यक्रममार्फत रगत सङ्कलनको काम भइरहेको कार्यालयको भनाइ छ । सङ्कलित रगत केन्द्रमा २५ दिनसम्म मात्र राख्न सकिने भएकाले अन्य अस्पतलामा रगत आवश्यकता हुँदा पठाउने व्यवस्था मिलाइने बताइएको छ ।

जिल्ला रेडक्रसका सभापति तुलबहादुर सुब्बाले भन्नुभयो निकै ठूलो पहलपछि ढिलैभए पनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ । यो हामी जिल्लावासीका लागि खुसीको कुरा हो । यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी कामको व्यवस्थापन गरेका छौँ । अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathdigitalkhabarhealthNepali NewsRainTax
Comments (0)
Add Comment