काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि उठाइने, अवरोध भए प्रशासनले बल प्रयोग गर्ने

१५ भदाै, काठमाडाैँ । करिब एक महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर भोलिदेखि उठाइने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलबारको बैठकले भोलि बिहान ६ बजेदेखि फोहोर उठाउने निर्णय गरेको हो। 

बैठकको पहिलो निर्णय नै उपत्यकाको फोहोर उठाउने विषयसँग सम्बन्धित रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। 

‘बैठकले मोटामोटी तीन–चार ओटा निर्णय गरेको छ,’ पराजुलीले भने, ‘पहिलो निर्णय नै काठमाडौं उपत्यकाको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठाउने भयो।’लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको काठमाडौं महानगरपालिका प्रमुख शाक्यले बताए।

उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए। सिसडोलमा फोहोर व्यवस्थापनको काम २०६२ सालदेखि हुँदै आएको  र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको भन्दै उनले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताए। शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए ।

‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौँ’, शाक्यले बैठकमा भने। महानगर प्रमुख शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए।

‘काठमाडौं महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भने, ‘अहिले पनि उहाँहरुका जायज र काठमाडौं महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौँ।’ 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिए।

‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ।’ 

काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिए।‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाइ गर्ने प्रयास हुन्छ’, सिंहले भने, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारबाहीको दायरामा ल्याएर भएपनि फोहोर व्यवस्थापन गर्छौं।’ 

बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए। काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न अपिल गरेका थिए। 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarhealthKathmandunepalNews
Comments (0)
Add Comment