राणाकालिन आलिशान दरबारमा पर्यटकलाई आतिथ्य सत्कार, ५ तारेदेखि बुटिक होटलसम्म सञ्‍चालन

०३ भदाै, काठमाडौं । सौखिन राणा शासकका नियो–क्लासिकल शैलीमा बनाइका आलिशान दरबारहरु धमाधम होटलमा परिणत हुँदैछन् । 

२००७ सालपछि सरकारले अधिग्रहण गरेका दरबारमा सरकारी कार्यालय छन् । तर, निजी स्वामित्वमा रहेका दरबारमा होटल बनाउन लागिएको हो । 

काठमाडौंमा एक सय बर्षभन्दा पुराना आधा दर्जन राणाकालीन दरबारहरु होटलमा परिणत भइसकेका छन् । पुराना मक्किएका दरबारलाई पुरानो स्वरुप नबिग्रिने गरी रेक्ट्रोफिटङ र रेनोभेसन गरी होटल सञ्‍चालनमा ल्याइएको हो । 

भिक्टोरियन शैलीका पुराना दरबारहरु संरक्षण गरेर होटल सञ्‍चालन गर्दा पर्यटक आकर्षित गर्न त सकिन्छ नै । नयाँ पुस्तालाई पुरानो सभ्यताको जानकारी गराउन पनि सकिन्छ । 

दरबारलाई होटलमा परिणत गर्ने बरिष्‍ठ पर्यटन व्यवसायी कर्ण शाक्यका अनुसार पुराना सम्पदाहरु जोगाउन सकियो भने यसले तत्कालीन वस्तुस्थिति झल्काइदिन्छ ।

‘अहिले पैसा खर्च गरेर दुरुस्तै देखिने ठूल महलहरु ठड्याउन सकिएला तर महलहरु जीवन्त बनाउन सकिदैन’ शाक्य भन्छन्, ‘त्यही भएर पुरानो दरबार जोगाएर होटलमा परिणत गरेको हुँ ।’

राणाकालिन दरबारमा पाँचतारदेखि बुटिक होटलसम्म सञ्‍चालनमा छन् । आज तीनै होटलका बारेमा चर्चा गर्दै छौं ।

शंकर होटल, लाजिम्पाट

तत्कालिन बीर शमशेर राणाका भाई जीत समशेर राणाको १२७ बर्ष पुरानो यो दरबार स्व. रामशंकर श्रेष्‍ठले खरिद गरेर सन् १९६४ मा चारतारे होटल सञ्‍चालनमा ल्याएका हुन् । 

२०७२ को विनाशकारी भूकम्पले यो होटलमा ठूलो क्षति पुर्याएको थियो, तैपनि रेक्ट्रोफिटिङ गरेर दरबारलाई संरक्षण गरी होटल सञ्‍चालनमा ल्याइएको छ ।

यो दरबार सन् १८९४ मा सम्भवतः पहिलो नेपाली आर्किटेक इञ्‍जिनियर कुमार नरसिंह राणाले बनाएका हुन् । सन् १९१३ मा जीत समशेरको निधन भएपछि यो दरबार जुद्ध समशेरका छोरा अग्‍नि समशेरको नाममा गयो ।

स्व. ऐश्‍वर्या शाह, तत्कालीन अधिराजकुमारी प्रेक्षा राज्य लक्ष्मीदेवी शाह र पूर्वरानी कोमल शाहको जन्म पनि यही दरबारमा भएको बताइन्छ । श्रेष्‍ठले यो दरबार जीत समशेरसँग खरिद गरेका थिए । 

शंकर होटलमा ९४ वटा कोठाहरु छन् । भूकम्पले क्षति पुराएपछि होटलको बाहिरी भाग, लवी, सभाहलको रिनोभेट गरिएको छ । 

याक एण्ड यति, दरबारमार्ग

दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतिको ‘फ्रन्ट फेस’ पुरानो राणाकालिन दरबार हो । लालदरबार रिनोभेसन गरेर होटल बनाइएको हो । यो होटलको मुख्य आकर्षण भनेकै यही दरबार हो ।

सभाहल, क्यासिनो, दुईवटा रेष्टुरेन्ट, ब्यांक्‍वेट हल लालदरबारमै छन् । यही हलमा राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय सभा–सम्मेलन भइरहन्छन् । 

एक सय ५ वर्षभन्दा अघि तत्कालीन प्रधानमन्त्री बीरसमसेरले लालदरबार बनाएको इतिहास छ । याक एण्ड यतिमा २७० कोठाहरु छन् । 

होटल एल्लो दरबार, सानेपा

सानेपा हाइटमा रहेको राणाकालिन दरबारमा होटल सञ्‍चालनमा आएको छ । यसअघि चर्चित ‘सानेपा इन्टरनेशनल क्लब’ रहेको दरबारमा अहिले होटल एल्लो दरबार सञ्‍चालनमा आएको हो । ललितपुर लुभुकी स्थानीय एवं वैदेशिक रोजगार व्यवसायी सुवर्ण श्रेष्‍ठले व्यवस्थापन सम्हालेसँगै इन्टरनेशनल क्लबको नाम परिवर्तन भएको हो । 

यो दरबार तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९२० सालमा छोरा सुरेन्द्र शमशेरका लागि बनाइदिएका थिए । एक सय बर्षभन्दा पुरानो दरबारमा पहिला ‘स्पोर्टस् एक्टिभिटिज’ मात्र हुन्थ्यो । अहिले ‘स्पोर्टस् एक्टिभिटिज’ सँगै बुटिक होटल पनि सञ्‍चालनमा ल्याइएको हो ।

यो दरबार १६ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । होटलमा राणाकालिन सभ्यता झल्काउने खालका कोठा छन् । कोठा, रेष्टुरेन्ट र सभाहलमा पुरानो र नयाँ सभ्यता झल्काउने गरी फ्युजन गरिएको छ । 

काठमाडौं गेष्‍ट हाउस, ठमेल 

पर्यटन व्यवसायी कर्ण शाक्यले आर्किटेक इञ्‍जिनियर कुमारनरसिंह राणाको दरबारलाई रेनोभेट गरेर होटल सञ्‍चालनमा ल्याएपछि ठमेलमा पर्यटन सुरु भएको थियो । शाक्यका अनुसार काठमाडौं गेष्‍ट हाउस भएको कुमारनरसिंहको यो दरबार सय वर्षभन्दा बढी पुरानो हो ।

शाक्यले ५५ वर्षअघि यो दरबारमा होटल खोलेका हुन् । जुन अहिले ठमेलको आत्मा बनिरहेको छ । यो होटलमा पहिले १२६ वटा रुम थिए । तर, भूकम्पले एउटा भाग भत्काएपछि अहिले कोठाको संख्या घटेको छ । 

होटल परिसरमै पुरानो दरबारको स्वरुपमा नयाँ भवन बनाएर रुमहरु थपेको छ शाक्य परिवारले । भूकम्पले भत्किएको भवन पन्छाएर अहिले त्यहाँ सुन्दर बगैंचा बनाइएको छ । यही होटलको सुरुवात भएपछि ठमेल पर्यटकीय गन्तव्य बनेको हो । आधुनिक ठमेलको जग बसाल्ने काम काठमाडौं गेष्‍ट हाउसले गरेको बताइन्छ ।

माया म्यानोर, हात्तिसार

उनै शाक्यले काठमाडौंको हात्तिसारमा रहेको सय वर्षभन्दा पुरानो दरबार रिनोभेसन गरेर माया म्यानोर होटल बनाएका छन् । शाक्यका अनुसार, यो बलराम समशेरको दरबार हो । उनले सन् १९७५ मा यो दरबार खरिद गरेका थिए । 

नियो–क्लासिकल शैलीको यो दरबारलाई रेनोभेट गर्नुका साथै छेवैमा दुरुस्तै देखिने नयाँ भवन बनाएर उनले माया म्यानोर होटल खोलेका हुन् । यो होटलमा ४६ वटा कोठाहरु रहेका छन् । 

शाक्यले सन् १९७५ सालमा ३ लाख २७ हजार रुपैयाँमा तीनआना जग्गासहित यो दरबार खरिद गरेका थिए । 

रोयल एम्पायर बुटिक होटल

१८औं शताब्दीमा तत्कालिन श्री ३ जुद्ध शमशेरको पालमा बनेको सेतो दरबारमा रोयल अम्पायर बुटिक होटल सञ्‍चालनमा ल्याइएको छ । जुद्ध शमशेरले यो दरबार छोरा ध्रुब शमशेरलाई दिएका थिए । ध्रुब शमशेरको निधनपछि यो दरबार उनका माइला छोरा मनोहर शमशेरको स्वामित्वमा पुगेको थियो ।

S: nepalhomes.com



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment