अफगानिस्तान द्वन्द्व: तालिबानद्वारा नियन्त्रणपछि त्यहाँको पछिल्लो अवस्था कस्तो छ?

०३ भाद्र, अफगानिस्तान । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ।

उसले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ।

त्यहाँ उनीहरूले कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको खबर आएको छ।

उनीहरूले कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको छ।

काबुलस्थित बीबीसी संवाददाताका अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन्।

सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम छ।

तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानहरूलाई रोकिरहेका छन्।

उनीहरूले त्यसक्रममा हावामा गोली समेत चलाएको खबर छ।

यात्राका लागि आवश्यक कागजात भएका कतिपयलाई पनि उनीहरूले रोकेको खबर छ।

कतिपय देशहरूले आफ्ना नागरिकका साथमा उनीहरूका सहकर्मीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा फिर्ता गरिरहेका बेला विमानस्थलमा अराजक अवस्था देखा परेको हो।

उक्त विमानस्थलबाट करिब ५,००० जनालाई विगत २४ घण्टामा उद्धार गरिएको छ।

अहिले अमेरिकाले खटाएको विशेष फौजले उक्त विमानस्थल चलाइरहेको छ।

पश्चिमी देशका एकजना अधिकारीले रोयटर्स समाचार संस्थालाई भनेका छन्, “यो एकदमै अस्तव्यस्त र अराजक अवस्थामा छ।”

तालिबानले अमेरिकी राहदानी भएकाहरूलाई चाहिँ विमानस्थल पस्न दिएका छन्।

तालिबानले गत आइतवार कैयौँ पश्चिमा शक्ति राष्ट्रहरूलाई आश्चर्यचकित पार्नेगरी काबुलमा नियन्त्रण कायम गरेको थियो।

अमेरिकी नेतृत्वको फौज अफगानिस्तानबाट फर्किएपछि उसले देशैभरि आफ्नो नियन्त्रण विस्तार गरेको थियो।

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

अफगानिस्तानमा चर्कंदो हिंसा

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।

न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।

तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।

अफगान युद्धमा ज्यान गुमाउने को हुन्?

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarInternationalnepalPoliticTalibantechnology
Comments (0)
Add Comment