साउनमा सरकारले १ खर्ब बढी राजस्व उठायो

०२ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् साउनमा मात्र सरकारले १ खर्ब बढी राजस्व उठाएको छ । कोभिड १९ महामारीका कारण अस्तव्यस्त भएको आर्थिक क्षेत्र बिस्तारै चलायमान भएसँगै राजस्व असुलीमा त्यसको सकारात्मक प्रभाव देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्ममा १ खर्ब ५ अर्ब ९३ करोड १६ लाख रुपैयाँ राजस्व सरकारी खातामा जम्मा भएको हो । पहिलो महिनाको राजस्व असुली वार्षिक लक्ष्यको ८.७२ प्रतिशत बराबर हो ।

महालेखाको तथ्यांकअनुसार कर राजस्वतर्फ ७६ अर्ब १८ करोड ८० लाख र गैर कर राजस्वतर्फ १७ अर्ब ७ करोड ३२ लाख रुपैयाँ बराबर उठेको देखिन्छ । त्यस्तै, अन्य प्राप्तिबाट सरकारको खातामा १२ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबर जम्मा भएको छ ।

साउन महिनामा आन्तरिक राजस्व विभागको राजस्व असुली आक्रामक देखिएको छ । विभागले साउनमा ३४ अर्ब २३ करोड ९५ लाख रुपैयाँ बराबरको कर असुली लक्ष्य राखेकोमा लक्ष्य भन्दा करिब ४ अर्ब बढी अर्थात ३८ अर्ब २ करोड ९८ लाख रुपैयाँ बराबर कर उठाएको छ । यो मासिक लक्ष्यको १११.०७ प्रतिशत बराबर हो ।

यो अवधिमा आयकर, मूल्य अभिवृद्धि र अन्तःशुल्क तीनवटै शीर्षकमा लक्ष्यभन्दा बढी कर उठेको छ ।

विभागले साउन महिनामा ११ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बराबर आयकर असुली गर्ने लक्ष्य राखेकोमा १४ अर्ब ४७ करोड ७५ लाख अर्थात् १२८ प्रतिशत आयकर उठेको छ ।

त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बराबरको लक्ष्य राखेकोमा ११ अर्ब ५५ करोड १६ लाख अर्थात १०९.१३ प्रतिशत र अन्तःशुल्कतर्फ ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबर असुली लक्ष्य राखिएकोमा ६ अर्ब ३६ करोड २ लाख अर्थात ११२.१९ प्रतिशत कर असुली भएको छ ।

साउनको बजेट खर्च साढे १० अर्ब


चालु आर्थिक वर्षको पहिलो १ महिना अवधिमा १ खर्ब बढी राजस्व उठाएको सरकारको बजेट खर्च भने निकै कम देखिएको छ । साउन मसान्तसम्ममा १० अर्ब ४९ करोड २५ लाख रुपैयाँ मात्रै बजेट खर्च भएको महालेखाको तथ्यांकबाट देखिन्छ ।

जसमध्ये चालु शीर्षकमा ९ अर्ब ५५ करोड ७५ लाख र पुँजीगततर्फ ९३ करोड ५० लाख रुपैयाँ बराबर खर्च भएको देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

businesscollected by governmentCoronavirusdigital khabarnepalTax
Comments (0)
Add Comment