फेरि भरिन थाले अस्पतालका शय्या

२५ श्रावण, काठमाडौं । केही दिनयता कोरोना संक्रमित मृत्युदर बढेको पाइएको छ । आइतबार ५९ दिनयता सबैभन्दा उच्च संक्रमित ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यसअघि गत २९ जेठमा ६१ संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो एक सातालाई आधार मान्दा दैनिक ३१ संक्रमितको मृत्यु हुने गरेको छ । गत सोमबारदेखि आइतबारसम्म २ सय १८ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार २३, मंगलबार २४, बुधबार ३५, बिहीबार ३७ संक्रमितको मृत्यु भएको छ ।

यस्तै, शुक्रबार २५ र शनिबार १९ संक्रमितको मृत्यु भएको तथ्याकंले देखाउँछ । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

यस्तै, देशभर आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ९ हजार ३३ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा २ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ३ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितमध्ये सबैभन्दा धेरै ७ सय ४० जना काठमाडौंका छन् । यस्तै, भक्तपुरका ५६ र ललितपुरका १ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी अस्पतालका चिकित्सक डा। प्रवीण नेपाल सो अस्पतालमा बेडभन्दा बढी बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आएको बताए । सो अस्पतालमा कोरोना संक्रमितका लागि १ सय ९० बेड छुट्याइएको छ । उनले नयाँ बिरामी आएको अवस्थामा फर्कोउनुपर्ने अवस्था आएको जनाए । कोरोना संक्रमणको दोस्रो लहरका बेला सो अस्पतालले २ सय ८० भन्दा बढी बेड खडा गरेर उपचार गरेको थियो ।

‘संक्रमित भएर आउनेको संख्या बढ्दै गएको छ, जता सकिन्छ त्यतै बिरामी राखेर उपचार गरिरहेका छौं,’ डा। नेपालले भने, ‘अहिले नै यस्तो स्थिति छ । तेस्रो लहर आएमा थप कठिन हुने हामीहरूको विश्लेषण छ ।’

त्यसो त स्वास्थ्य मन्त्रालयले आगामी १५ असोजदेखि तेस्रो लहर आउन सक्ने आँकलन गरिसकेको छ । कोरोनाविरुद्धको प्रतिकार्यका लागि साउनदेखि जारी गरेको पाँचमहिने द्रुत कार्ययोजनामा सो कार्य उल्लेख छ । कार्ययोजनामा अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुन सक्ने मन्त्रालयको प्रक्षेपण छ । त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने र जसमध्ये ९ हजार ७ सय ९३ जनालाई आईसीयूमा उपचार गर्नुपर्ने आँकलन मन्त्रालयले गरेको आजको राजधानी दैनिकमा खवर छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment