बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा काेराेना संक्रमण

१९ साउन , बेइजिङ । बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित बिरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी अपनाउन निर्देशन दिइसकेको छ ।

सोमबार सङ्क्रमण पुष्टि भएका व्यक्ति गत बुधबार सङ्क्रमण भेटिएका एक व्यक्तिको निकट सम्पर्कमा रहेको बताइएको छ । नयाँ सङ्क्रमित व्यक्ति र सङ्क्रमण क्षेत्रलाई स्वास्थ्यकर्मीले निकट अवलोकनमा राखेका छन् ।

बेइजिङका अधिकारीहरूले सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखाको अगुवाईमा सङ्क्रमित भेटिएको स्थानमा अनुसन्धान र वृहत् न्युक्लियक एसिड परीक्षण सुरु गरेको बताएका छन् ।

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको थियो । ती व्यक्तिहरू चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।

जियाङ्सु, हुनान, लियानिङ लगायतका क्षेत्रमा समुदायभित्रैबाट सङ्क्रमित भेटिन थालेपछि आयोगले सतर्कता अपनाउन सम्बन्धित सबैलाई भनेको छ ।

ती क्षेत्रहरूमा विगतका केही दिनदेखि निरन्तर रूपमा नयाँनयाँ संक्रमितहरू देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरू आइरहेका ती अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment