पाँचपोखरी विपद् कोषमा २९ लाख सहयोग

११ साउन, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा याङ्ग्री लार्के सरोकार समितिले आर्थिक सहयोग प्रदान गरेको छ । याङ्ग्री लार्के अर्थात् इन्द्रावती नदीबाट प्रभावित साविकका १० गाविस हाल पाँचपोखरी थाङ्पालका वडा नं १ देखी ८ तथा मेलम्ची नगरपालिका– ९ र १० मा कार्यक्षेत्र रहेको समितिका तर्फबाट रु २८ लाख ८० हजार सहयोगको चेक प्रदान गरिएको समितिका सहसचिव भीमसेन खनालले जानकारी दिनुभयो ।

उक्त चेक आइतबार समितिका पदाधिकारीद्वारा गाउँपालिका अध्यक्ष टासी लामालाई हस्तान्तरण गरिएको हो । चेक समितिका उपाध्यक्ष भीमबहादुर गुरुङ र सूर्यबहादुर अधिकारीका साथै समितिका सदस्य तथा सल्लाहकारको रोहबरमा प्रदान गरिएको थियो । रकम विपद् व्यवस्थापन कोषमा रहने गरी बाढी पहिराबाट क्षति भएकाका लागि खर्च गरिने अध्यक्ष लामाले बताउनुभयो ।

पाँचपोखरी थाङ्पालको याङ्ग्री, टासिवा, सुनचौर, मैखर्कमा यस वर्ष बाढीपहिराले जनजीवन प्रभावित बनाएको थियो । बाढीले स्वास्थ्य क्लिनिक भवन, याङ्ग्री एकेडेमी स्कुलको भवन, पुललगायतका संरचनामा क्षति पु¥याएको थियो ।

बाढी प्रभावितलाई आर्थिक सहयोग

न्यूयोर्क नेपाली हेल्पपोष्टले बाढी प्रभावित मेलम्ची र हेलम्बुका प्रभावित परिवारलाई आर्थिक सहयोग गरेको छ । आइतबार हेलम्बुका पूर्णरुपमा क्षति भएका २४ परिवारलाई रु चार÷चार हजार, आंशिक क्षति भएका ११ परिवारलाई रु दुई÷दुई हजार र बाढीमा परी बेपत्ता भएका दुई परिवारलाई रु १०÷१० हजारका दरले नगद वितरण गरिएको समाजसेवी एवं युवा नेता सुदर्शन सापकोटाले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकामा पूर्णरुपमा क्षति भएका ३५ परिवारलाई रु १०÷१० हजार र आंशिक क्षति भएका नौ परिवारलाई रु पाँच÷पाँच हजारका दरले रकम हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिनुभयो । बाढीले विस्थापित भएको रेडियो मेलम्ची स्थापित गर्नका लागिसमेत रु १५ हजार सहयोग गरिएको छ ।

हाल अमेरिका रहनुभएका सोनम घिसिङ, सीताराम दुलाल, राजकुमार सापकोटा र दिनेश खतिवडाको पहल तथा सहयोगमा सङ्कलित रु पाँच लाख ५० हजार अभियानकर्मीका परिवारसहितको उपस्थितिमा प्रभावितलाई हस्तान्तरण गरिएको हो । सहयोग रकम ग्रहण गर्दै रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोगी दातालाई धन्यवाद दिनुभएको थियो ।

भोल्टेज कम आउँदा मर्का

सदरमुकाम चौतारा र आसपासका क्षेत्रमा कम भोल्टेजको विद्युत् प्रवाह गरिँदा स्थानीयवासी मर्कामा परेका छन् । एक महिनाअघिदेखि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लामोसाँघुबाट २२० भोल्ट विद्युत् प्रसारण हुनुपर्नेमा चौतारा साँगाचोकगढी नगरपालिकाभर १४० भोल्टभन्दा कम मात्र प्रसारण भएको छ । सोका कारण फ्रिज, पानी तान्ने मोटर, मिल, कम्प्युटरजस्ता विद्युतीय उपकरण बिग्रिएको स्थानीयवासीले बताएका छन् ।

कम भोल्टेजको विद्युत् आउँदा विद्युतीय उपकरण बिग्रिएका र मोबाइलजस्ता अत्यावश्यक उपकरण चार्ज गर्नसमेत समस्या देखिएको विद्यार्थी नेता चौतारा साँगाचोकगढी–३ का मिलन लामाले बताउनुभयो । लिफ्टबाट खानेपानीको पूर्ति हुँदै आएका ठाउँमा बत्तीकै कारण लिफ्ट नचल्दा सिङ्गो गाउँले नै पानी खान नपाइरहेको अवस्था रहेको उहाँले जानकारी दिनुभयो । विद्युतीय समस्यालाई तत्काल समाधान गर्न उहाँले प्राधिकरणलाई अनुरोध गर्नुभयो



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarfloodfund
Comments (0)
Add Comment