दिक्तेलबजार हिलाम्मे, तत्काल ढलान सुरु गर्न कांग्रेसको माग

१० साउन, काठमाडौं । वर्षा याममा खोटाङको दिक्तेलबजार हिलाम्मे हुँदा स्थानीयलाई आवात–जावत गर्न समस्या भएको भन्दै कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। दिक्तेलको हाटडाँडादेखि सिँचाईगेटसम्मको खण्ड ढलान नहुँदा वर्षा याममा हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङले ध्यानाकर्षण भएको जनाएको हो। 

जिल्ला प्रशासन कार्यालयमा शनिबार ज्ञापन–पत्र बुझाउँदै कांग्रेसले दिक्तेलबजारको बाँकी खण्ड ढलानको जिम्मा लिएका ठेकेदारलाई तत्काल बोलाएर वैकल्पिक व्यवस्था गरी सहज आवत–जावतको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने बजारको सडक ढलानमा भएको ढिलासुस्तीमा स्थानीय सरकारले परिणामुखी पहलकदमी गर्न नसकेको कांग्रेसले जनाएको छ।  

साविकको सदरमुकाम दिक्तेलबजारको रत्नपार्कदेखि सिँचाईगेटसम्म, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र भवनगैरादेखि कृषि ज्ञानकेन्द्रसम्म ढलान भइसकेको छ। अव हाटडाँडादेखि त्रिबेणीचोक हुँदै सिँचाई गेटसम्मको खण्ड ढलान गर्न बाँकी छ। त्यसमध्ये टेलीकमको कार्यालयदेखि हाटडाँडा क्षेत्रमा दिक्तेल–खानीडाँडा आहाले सडक कालोपत्रे गर्ने क्रममा स्वःत ढलान हुने छन्।

टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि ठेक्का सम्झौता भएको महिना दिन वित्दा समेत काम नहुँदा स्थानीय हिलाम्मे बजारमा हिँड्न बाध्य बनेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराईले बताए।  

पहाडी जिल्लाका सदरमुकाम ढलान भएको वर्षौँवित्दा दिक्तेलबजार हालसम्म ढलान हुनसकेको छैन। जिल्लाका जनप्रतिनिधि, नेता लगायतलाई नै गिज्याइरहेको दिक्तेलबजारको टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि सुर्य विकास जेभी लाहानले ठेक्का पारेको छ। सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाखमा आगामी मंसिर २० गतेसम्ममा सम्पन्न गर्नेगरी सुर्य विकास जेभीले गत असार १० गते सम्झौता गरेको हो।

तर, ठेकेदारले काम सुरु नगर्दा दिक्तेलबजार हिलाम्मे बनेको कांग्रेसको ध्यानाकर्षण पत्रमा उल्लेख छ। दिक्तेलबजारका पुरानो बेसक्याम्प, सिँचाई गेट आसपासमा आहालजस्तै धमिलो पानी जमेको देखिन्छ। हिलो जमेको सडकको डिलबाट हिँडडुल गर्दा समेत यात्रुको खुट्टा भासिने गरेको छ। जुत्ता चप्पलमा हिलो लाग्ने गरेको छ।

सडकमा जमेको हिलो सवारी साधनले उछिट्याउँदा पैदल यात्रीलाई भिजाउने गरेको गुनासो छ। २०२० सालमा खोटाङबजारबाट दिक्तेलमा सारिएको सदरमुकामलाई ढलान गर्ने प्रयास हालसम्म सफल हुन सकेको छैन।कांग्रेसले कोभिड–१९ को महामारीको वाहनामा कतिपय ठेकेदारले भौतिक पुर्वाधारको काम अलपत्र छाडेको पाइएको जनाएको छ।

कोभिड विरुद्धको खोप सुनिश्चित गर

अधिकांश जिल्लामा कोभिड–१९ विरुद्धको खोप पुगिसकेको उल्लेख गर्दै कांग्रेसले खोटाङका नागरिकका लागि तत्काल खोपको व्यवस्थाका लागि प्रशासनको ध्यानाकर्षण गराएको छ। यस्तै, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ गते पत्र अनुसार शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप व्यवस्था गरेर जीवन सुरक्षित गर्न माग गरिएको छ।

‘कोरोना संक्रमण विरुद्धको खोप देशका अधिकांश जिल्लामा प्रयोग गरिसकिएको समाचार आइरहँदा खोटाङमा भने खोप दिनबाट वञ्चित भइ नागरिकले असुरक्षित महसुस गरिहेकाले तत्काल खोप व्यवस्थाका लागि सरोकारवाला पक्षलाई ध्यानाकर्ष गराइयोस्,’ ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असार २८ गते शिक्षक तथा कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी खोप लगाउन परिपत्र गरिएकाले उक्त निर्देशनलाई कार्यान्वयन गरी पठन–पाठन गराउने शिक्षकको जीवन सुरक्षित गरियोस्।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment