ब्लुबुक अनलाइनबाटै यसरी गर्नुस् नवीकरण (प्रक्रिया सहित)

०८ श्रावण, काठमाडाैं । बागमती प्रदेश सरकारले आज देखि सवारी साधनको कर तिर्न र नवीकरण गर्न सकिने अनलाइन प्रणालीको सुरुवात गरेको छ । यससँगै अब ब्लुबुक अर्थात बिल बुक नवीकरण गर्न र कर तिर्न अनलाइनमार्फत घरैमा बसेर सकिने भएको छ ।

अब यातायात कार्यालयमा गएर घण्टौ लाइन लाग्नु पर्ने झन्झटको अन्त्य हुने भएको छ भने ब्लुबुक समेत बोकिरहनु पर्ने झन्झट पनि हुने छैन । सवारी साधनको कर तिरे वा नतिरेको बारेमा ट्राफिक प्रहरीले क्यूआर कोड स्क्यान गरेरै हेर्न सक्ने छन् । यद्यपि एक पटक भने भेरिफाई गर्नका लागि यातायात कार्यालयमा पुग्नु पर्नेछ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास गरेको यातायात व्यवस्था सूचना प्रणाली (टीएमआईएस) र नागरिक एपबाट कर तिर्न सकिन्छ । टीएमआईएसबाट कर तिर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि दाँयासाइडमा सवारीधनी लगइन पोर्टल देखिन्छ ।

त्यहाँ नयाँ दर्ता भन्ने एउटा अप्सन देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् र आफ्नो विवरण राखेर एकाउन्ट बनाउनुहोस् । त्यसपछि एकाउन्ट लगइन गर्नुहोस् । लगइन गरेपछि त्यहाँ एउटा प्लस आइकन देखिन्छ सो आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो ब्लुबुक अनुसारको विवरण थप्नुहोस् र आफ्नो प्रोफाइल अपडेट गर्नुहोस् ।

यदी विवरण मिलेन भने आफै विवरण सच्याउन पनि सकिन्छ । अब त्यहाँ भुक्तानी गर्नुपर्ने कर रकम देखिन्छ । आफ्नो सवारीसाधनको बिमा कायम रहेको नरहेको यकिन गर्नुहोस् र छैन भने अनलाइनमै उपलब्ध भएको बिमा भर्नुहोस् । त्यसपछि कर तिर्नुहोस् भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् ।

यति भएपछि कर तिर्नुपर्ने रकम त्यहाँ देखाउँछ । त्यसपछि कुन कार्यालयमा कर तिर्नुपर्ने उक्त कार्यालय छनोट गर्नुहोस् । अनि त्यहाँ एउटा विवरण देखिन्छ जहाँ कनेक्ट आईपीएस क्लिक गरी रकम तिर्नुहोस्मा क्लिक गर्नुहोस् ।

त्यसपछि कनेक्ट आईपीएस लगइन गर्नुहोस् र कुन बैंक खाताबाट रकम तिर्ने भनेर खाता छनोट गर्नुहोस् र सबमिट गर्नुहोस् । अनि ओटिपी राखेर भुक्तानी गर्नुहोस् ।

रकम भुक्तानी भएपछि रसिद डाउनलोड गर्ने अप्सन देख्नुहुनेछ । उक्त रसिदमा क्यूआर कोडसहित तपाईको सवारीसाधनको सम्पूर्ण विवरण हुन्छ ।

उक्त डाउनलोड गरेको रसिद तपाईको सवारीसाधनमा टाँस्नुहोस् । जसबाट ट्राफिक प्रहरीले मोबाइल एपबाट उक्त कोड स्क्यान गरी कर तिरे नतिरेको यकिन गर्नेछन् । यो कोड राखेपछि ब्लुबुक बोकेर हिड्नु पर्दैन ।

यो सबै सेवा नागरिक एपबाट समेत लिन सकिन्छ । अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ । तर उक्त बिल बुकको अद्यावधिक, भेरिफाई गर्नका लागि एक महिनाभित्र यातायात कार्यालय पुग्नु पर्नेछ । एक पटक भेरिफाई गरिसकेपछि अर्को वर्षदेखि भने यातायात कार्यालय पुग्नुपर्ने छैन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment