प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज देखि पुनः सुनुवाई शुरु हुँदै

०९ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधवार (आज) देखि पुनः सुनुवाई शुरु हुँदैछ ।

यसअघि जेठ १४ गतेबाट सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई शुरु गरिएको थियो । संवैधानिक इजलासले विपक्षी राष्ट्रपति, प्रधानमन्त्री कार्यालय र सभामुखले लिखित जवाफ पेश गरिसकेका छन् । त्यसै अनुसार आजबाट उक्त मुद्दाको अन्तिम सुनुवाई शुरु हुन लागेको हो ।

त्यसैगरी संवैधानिक इजलासले माग गरे अनुसार अदालतको सहयोगी (एमिकस क्यूरी) समेत गठन गरिएको छ । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरिसकेको छ ।

यसैगरी यसअघिकै संवैधानिक इजलासले समय व्यवस्थापनबारे आदेश गरिसकेको छ । जसअनुसार बहस शुरुका लागि कुल १२ घण्टा र विपक्षीको जवाफ फर्काउनका लागि ३ घण्टाको समय छुट्टयाइएको छ ।

गत जेठ ७ गते मध्यराती मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरुद्ध सर्वोच्चमा ३० वटा रिट निवेदनहरु परेको छ । त्यस्तै विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिस गर्दैै १४६ सांसहरुले रिट निवेदन दर्ता गराएका छन् ।

तीनै मुद्दाहरुमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले सुनुवाई गर्दैछ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment