अझै एक साता नेपालमा मनसुनले कडा सक्रियता जनाउने

०२ असार, काठमाडौं । मनसुनी न्यून चापीय रेखा बङ्गालको खाडीबाट नजिक सर्ने क्रम जारी रहेकाले पनि अझै एक साताभन्दा बढी समय नेपालमा मनसुनले कडा सक्रियता जनाउने सम्भावना रहेको जल तथा विभागले जनाएको छ । विभागका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव निरन्तर बढोत्तरीतर्फ उन्मुख छ ।

मनसुनको सुरुवात नै पूर्व र मध्यक्षेत्रमा भएकाले सबैभन्दा बढी मध्यक्षेत्रको नारायणी नदीमा अत्यधिक बाढी उर्लिएको छ । नारायणी जलाधार क्षेत्रमा वर्षा अझै निरन्तर छ ।

नदीको बाढीले मङ्गलबार बिहानै सतर्कता तह पार गर्दै साँझ खतराको तहको मापन नौ मिटरमाथिको उकालो पार गरिसकेको छ । नारायणगढ र गैँडाकोटको तटीय क्षेत्र डुबानमा परेको छ । नारायणीको बाढीले उग्र रूप लिएपछि त्रिवेणीको गण्डक बाँधको सबै ढोका खोलिएका छन् ।

नारायणीको तटीय क्षेत्र त्रिवेणी, गैँडाकोट, सुस्तालगायतका क्षेत्रका बासिन्दालाई बस्तीबाट अन्य सुरक्षित स्थानमा जान सन्देश पठाइएको छ । त्यस्तै, पाल्पाको रुद्रबेनीको बहाव पनि उच्च रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

सोमबारदेखि सिङ्गो गण्डकी प्रदेशको आकाशमा कालो बादल मडारिँदै पानी परिरहेको छ । पहाडी इलाका रहेकाले पहिरो जाने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन भनिएको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती, बबई, तिनाउलगायतका सहायक नदीमा बहाव बढिरहेको छ ।

कर्णाली प्रदेशका भेरी क्षेत्रमा पानी परिरहेको छ । अत्याधिक बर्षाले कास्की, लमजुङ पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, त्रिवेणी, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ लगायतका जिल्ला प्रभावित बनेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment