अवैध लागूऔषध सहित १२ जना पक्राउ

३१ जेठ, काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर मोड नजिकबाट अवैध लागूऔषध र नगद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर मोड डेरा गरी बस्ने ३१ वर्षीय हेमजंग बानियाँ र सोही उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय सुरेश परियार रहेका छन् । लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले हेमजंगको साथबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ३ लाख ६६ हजार २ सय ५० रुपैयाँ तथा सुरेशको साथबाट नगद २ हजार रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।

बाँके, राप्ती सोनारी गाउँपालिका-६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्त बहादुर बिक समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भे.१ ह २७१५ नम्बरको अटोलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी चालक विक समेत अटो सवार उनीहरुलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट १३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका-३ बस्ने २२ वर्षीय बले भन्ने प्रज्वल बाँनियालाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

ईलाम, माई नगरपालिका-४ शंकर गाउँबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका-८ बस्ने २८ वर्षीय महेश थापा लगायत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश १-०१३ प. ७२२२ र ना.३२ प ६९१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment