काठमाडौं महानगर क्षेत्रमा भोलिदेखी ६० वर्ष ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिदै

२४,जेठ, काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा भोलिदेखी ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो ।

खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । भोली जेठ २५ गते ६४ वर्ष समूहले खोप लगाउने कार्यक्रम रहेको छ ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २५ गते ६४ वर्ष समूहले जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

यस अघि कोभिडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।

सरकारले कोभिडविरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिने पेशाकर्मी, दीर्घ रोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ ।

यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो । यसरी दिइने खोप २ प्रकारका छन् । एउटा भारतको सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड हो भने अर्को चिनियाँ खोप भेरो सेल हो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment