प्रधानमन्त्री नियुक्तीको विकल्प रहँदा रहँदै संसद विघटन गर्न मिल्दैन : सभामुख सापकोटा

०७ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री नियुक्तीको विकल्प रहँदा रहँदै संसद विघटन गर्न नमिल्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभएको छ ।

शनिबार वक्तव्य जारी गर्दै संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक रहेको उहाँले बताउनुभएको हो ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक भएको टिप्पणी गरेका हुन् । प्रतिनिधिसभा विघटन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले विघटन यसअघिको सर्वोच्चको फैसलाको समेत विपरित रहेको बताएका छन् ।

सभामुख सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन ।’

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयले जेठ ७ गते जारी गरेको विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाएको भन्दै शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरित भएको बताएका छन् ।

उनले कोरोना महामारीको अवस्था भयावह रहेका बेला सरकारको प्राथमिकता नागरिकको स्वास्थ्य हुनुपर्नेमा त्यसो हुन नसकेर राजनीतिक संकटले स्वास्थ्य संकट थप बढ्न सक्ने चिन्तासमेत व्यक्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment