पश्चिम बंगालमा दुई मन्त्रीसहित चार नेता पक्राउ

०४ जेष्ठ, नयाँदिल्ली । भारतको पश्चिम बंगालमा नारदा स्टिङ घटनाको अनुसन्धान गरिरहेको सीबीआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुल नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ ।

पक्राउ पर्नेहरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टीएमसी विधायक मदन मन्त्री रहेका छन् ।

राज्यपाल जगदीप धनखडले सीबीआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएको बुझिएको छ । आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सीबीआई कार्यालयमा पुगेको समाचारलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्व दिएर सम्प्रेषण गरेका छन् ।

सत्ताधारी टीएमसीले यो गिरफ्तारीलाई गैरकानुनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले बिनासूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको बताए । उनले यो मामिलामा आरोपित भाजपा नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर प्रश्न गरेका छन् । विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बताएका छन् ।

सन् २०१६ को विधानसभा चुनाव पहिले टीएमसीका मन्त्री, सांसद तथा विधायकजस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टिङ अपरेसनको भिडियो सार्वजनिक भएपछि यी नेताहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो । रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment