विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२० बैशाख,काठमाडौं । झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-७ बस्ने ४७ वर्षीय विष्णु गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत बिराटनगर, इलाम इजलास इलामको २०७७ पुस १३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराईएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथै तनहुँ, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-७ पाथ्रा बस्ने ३१ वर्षीय घैटे भन्ने रोशन गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०७७ फागुन २० गते राती सोही नगरपालिका-७ पाथ्रा बस्ने २२ वर्षीय किशोर कुमार श्रेष्ठलाई सामान्य बिवादमा ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरीले आबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट पक्राउ गरेको हो ।

गुरुङ उपर ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


बारा, लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका-५ ठेगाना भएकी गिता भन्ने मनिषा गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०७४ भदौ ५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी कैलया उपमहानगरपालिका-१ ठेगाना भएका भोला भन्ने बृजकिशोर पटेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०७४ माघ १० गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनालाई जिल्ला अदालत बारा पेश गरिएकोमा अदालतको आदेशले उनीहरुलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment